२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

प्रहरीकै ‘सेटिङ’मा वाणगंगाको बालुवा तस्करी, खवर गर्दा पनि सुन्दैन पिपरा प्रहरी !



मायादेवी अनलाइन, पिपरा ।
कपिलवस्तुको वाणगंगा नदीमा ठेक्का सकिएको ३ महिना पछि पुन चोरी निकासी बढेको छ । वाणगंगा नदी क्षेत्रबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको हो । ठेक्का नलागेको मौका छोपी वाणगंगा नदीबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । वाणगंगा नदी अन्तरगत उप्टहवा, मधुवन, बालापुर, सुठौली, भलवाड क्षेत्रबाट नदीजन्य पदार्थको चोरी भइरहेको हो ।
रातको समयमा ती क्षेत्रबाट नदीजन्य पदार्थको चोरी निकासी हुँदा स्थानीय प्रहरीको सेटिङ्गमा हुने गरेको श्रोतले बताएको छ । घुमुवा प्रहरी मार्फत चोरी हुने क्षेत्रका गाउँमा पुगेर तस्करी गर्ने व्यक्तिसंग आर्थिक लेनदेनमा सेटिङ्ग मिलाउने गरेको एक वडा सदस्यले बताए । रातको समयमा सयौं ट्याक्टर बालुवा चोरी हुँदा समेत प्रहरी वेखबर हुनु प्रहरी सेटिङ्ग भएको स्थानीय मधु घिमिरेले बताए । पटक पटक गरी इलाका प्रहरी कार्यालय पिपरामा ४ वर्षदेखि कार्यरत घुमुवा प्रहरी सुरेन्द्र रजत पिपरा बसेरै नदीजन्य पदार्थ चोरी तस्करी गर्ने सवै सेटिङ्ग मिलाउने गरेको एक ट्याक्टर व्यवसायीले जानकारी दिएका छन् ।
दिनको एक पटक घुमुवा प्रहरी चोरी हुने क्षेत्र मधुवन धाम, उप्टहवा, वालापुर, बोर्डगाउँ, कोइली बनगाई, भगलापुर, जिनुवा आउने गरेको र ट्याक्टर धनी पनि त्यही गएर डिल हुने गरेको छ । प्रहरी सेटिङ्गमै नदीजन्य पदार्थको चोरी हुने गरेको रहस्य फेला परेको हो । भगलापुर नाकामा ४०।५० ट्याक्टर बालुवा चोरी गरी संकलन गर्दा रातको समयमा प्रहरी सेटिङ्गमा चोरी गर्ने तस्करहरुको गिरोह सकृय भएको तथ्य वाहिर आएको छ । सोही नाकामा रातको ११ बजे चोरी भईरहेको इलाका प्रहरी कार्यालय पिपरामा खवर गरेपनि तिनीहरु नआएको वडा अध्यक्ष सुकदेव थारुले बताए ।
तस्करहरुले भगलापुर नाकाबाट सोही दिन रातभर चोरी गरेर ४०।५० टाली बालुवा विभिन्न ठाउँमा संकलन गरेर राखेका थिए । राती ११ बजे नै सूचना आउना साथ पिपरालाई जानकारी गराउदा समेत प्रहरी नआउदा चोरी भएको वडा अध्यक्षले बताए । प्रहरीले नै चोरी तस्करीलाई पूर्व सूचना दिएर खोलाबाट ट्याक्टर निस्किएपछि गस्तीमा जाने गरेको वडा अध्यक्षहरुले बताएका छन् । बालुवा चोरी कार्यमा रात भरी सेटिङ्ग मिलाउने र विहानै घुमुवा भेट्ने गरेको समेत श्रोतले बताएको छ । चोरी गरी डम्पिङ्ग गरिएको सोही बालुवालाई वाणगंगा नगरपालिकाले वैधता दिदै घुमाइ फिरी उनीहरुलाई नै लिलाम गर्ने गरेको छ । चोरी गरी संकलन गरिएको बालुवाको लिलाम विक्रीबाट नगरपालिकाले ७८ हजार राजश्व संकलन गरेको नगरपालिकाका राजश्व शाखाका प्रमुख शान्ताराज आचार्यले बताए । रातमा चोरी गर्ने गिरोह को हुन् भन्ने बारे आफुलाई थाहा नभएको आचार्यले बताए ।

उता इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष कुमार जोशीले वाणगंगा नदीमा चोरी बढेको स्वीकारेका छन् । नगरपालिकासंग समन्वय गरेर नियन्त्रणका लागि संयुक्त अनुगमन गर्नुपर्ने माग राखेको बताए । वाणगंगा नदी भन्दा माथि मधुवन धाम क्षेत्र धार्मिक तथा ऐतिहासिक स्थल रहेकोले यस क्षेत्रलाई नदीजन्य पदार्थको उत्खननमा प्रतिबन्ध क्षेत्र घोषणा गर्नुपर्ने समाजसेवी पोमनारायण पौडेलले बताए ।
नदी आसपासका कुलाहरुबाट बालुवा चोरी गर्न सवै निकायलाई मिलाउनुपर्ने भन्दै ट्याक्टर धनी र प्रहरीबीच पनि डिल हुनेगरेको स्थानीयले बताएका छन् । त्यस्तै शसस्त्र प्रहरी बल पिपराले पनि वाणगंगा नदीको दोहनबारे कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ७ : १९ बजे