१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मुख्यमन्त्रीले दिए नेकपा निकट जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले परिवेश अनुरुपको विकसित सभ्यता संगसंगै आफुलाई विकास गर्न सके मात्र समाज विकास क्रम अघि बढ्न सक्ने औल्याउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी कपिलवस्तुले आफ्ना सचिवालय सदस्य र जनप्रतिनिधिको लागि राखेको प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा औल्याउनुभएको हो । उहाँले स्थापित र पुरानो मान्यतालाई मात्र बोकेर हिड्दैमा समाज बदल्न नसकिने तर्क गर्नुभयो ।
व्यक्ति मात्र ठिक भएर समाज रुपान्तरण नहुने भन्दै उहाँले पार्टीका इतिहासका साथ साथै अहिलेको गतिलाई पक्रन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपाका नेता तथा कार्यकर्ताले पार्टी नीति र बिधिलाई ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एंव संविधानबिद् खिमलाल देवकोटाले स्थानीय सरकार संचालन निति, विधि र कानुनी प्रकृयाका बारेमा प्रशिक्षण दिदै कुनै पनि कामको प्रतिफल योजनाले मात्र आउने बताउनुभयो । विकासको काम चिन्ताले नहुने भन्दै चिन्तन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, केन्द्रीय सदस्य एंव जिल्ला सह–इन्चार्ज विमला घिमिरे, लगायत प्रदेश कमिटी सदस्यहरु, जिल्ला सचिवालय सदस्यहरु, जिल्ला स्कुल विभाग सदस्यहरु र स्थानीय जनप्रतिनिधि हरुको सहभागितामा उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव रामचन्द्र शाह बिष्णुले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ११ : २९ बजे