चितवन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको बताउनु भएको छ ।उहाँले परिवर्तन र समाजवादको महानयात्रामा कहीँ कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले बिहीबार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई पार्टी भित्रबाटै खतरा हुनसक्ने बताउनुभयो ।
सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु आफूहरुकै जिम्मेवारी र दायित्व भएको भन्दै उहांँले भन्नुभयो, ‘हामी बिग्रियौँ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत संघ जस्तै खतरा हुन्छ ।’
पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उहांँले थप्नुभयो, ‘कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।’ प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्रयाइँ, लापर्वाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएको हो कि भन्दै उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष प्रचण्डले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताउनुभयो । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उहाँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार गरियो भने मात्र शुभकामना सार्थक हुने उहाँले बताउनुभयो ।
चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताउनुभयो ।
गृहमन्त्री थापाले भन्नुभयो, ‘उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।’ सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै उहाँले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताउनुभयो । रासस






प्रतिक्रिया