२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपालमा ५० लाख पर्यटक भित्राउन सकिन्छ-हेलिकप्टर ‘म्यान’ कँडेल (अडियो)



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । 

नेपालका सफल पर्यटन ब्यावसायी योगराज कंडेलले भ्रमण वर्ष २०२० मा ५० लाख पर्यटकहरु सजिलै नेपालमा भित्राउन सकिने बताउनु भएको छ । विश्वका घुम्न लायक देशहरुमध्ये नेपाल सबैभन्दा उत्कृष्ट गन्तव्य रहेको हुँदा २० लाख पर्यटक नेपालको लागि ठुलो कुरा नभएको बताउनु भएको हो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको दैनिक वहसमूलक कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुरा गर्दै उहाँले सरकारले समयमै आवश्यक जति भौतिक पूर्वाधार निर्माण गर्न सके सरकारको लक्ष्य सजिलै पुरा हुने बताउनु भयो ।

हेलिकप्टर सोसाइटी नेपालका महासचिव तथा एभरेष्ट हेलीका सिइओसमेत रहनु भएका कँडेलले भन्नुभयो, “सरकारले जम्मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, म त भन्छु जम्मा २० लाख ? नेपाल जस्तो मुलुक तर विश्वमा सबैभन्दा धेरै टुरिस्ट भित्राउने फ्रान्सले प्रतिवर्ष ९ करोड पर्यटक भित्राउँछ भने हाम्रा लागि ५० लाख केही पनि होइन ।” सरकारले भ्रमण वर्षको लागि आवश्यक पूर्वाधार तयार गर्न सके  र उनीहरुको लागि न्यूनतम शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सके टुरिजमबाट धेरै लाभ लिन सकिने उहाँको भनाइ छ ।

सन् २०१८ मै नेपाल भ्रमण वर्ष मनाउने तयारी भए पनि तयारी अभावका कारण २ बर्ष पर सरेको भए पनि यो नेपालको लागि सुखद रहेको भन्दै अब गर्नु पर्ने काममा विलम्ब गर्न नहुने उहाँले धारणा राख्नु भयो । भौगोलिक, धार्मिक, सामाजिक, सांस्कृतिक पर्यटनका प्रशस्त सम्भावना रहको नेपालमा २०१५ मा भुकम्पका कारण  ५ लाख मात्र पर्यटक भित्रिए पनि त्यसपछि भने अहिलेसम्म निरन्तर टुरिस्ट आगमनको दर बढीरहेको आँकडा प्रस्तुत गर्नुभयो । सन् २०१६ मा ७ लाख, १७  मा ७ लाख  ५३ हजार २, १८ मा ११ लाख बढी र १९ मा पनि सोही हाराहारीमा टुरिस्टहरु आइरहेका छन् । अहिले पनि प्रतिदिन ३ हजार २ सय ८७ पर्यटक प्रतिदिन आउँदा १२  लाख पुग्ने देखिएको छ । २० लाख पुर्याउन अब प्रतिदिन ५ हजार ४ सय ८०  को आँकडा पुरा गर्नुपर्दछ । यसको लागि थप पाँच सात वटा जहाजहरु नेपाल सरकारले तुरुन्त थप्नु पर्दछ, उहाँले भन्नुभयो ।

नेपालले पछिल्लो १ दशक भ्रमण वर्षकै रुपमा मनाए पनि जुन मुलुकबाट टुरिस्ट आउने हो त्यहाँ प्रचार-प्रसार हुन नसकेकोमा उहाँले दुख ब्यक्त गर्नुभयो । नेपालमा धेरै पर्यटक आउने गन्तव्यहरु भारत, चीन, अमेरिका, युरोप,  थाइल्याण्ड र श्रृलंकामा नेपालका पर्यटकीय स्थलको बयापक प्रचार-प्रसार गर्न आवश्यक रहेको उहाँको भनाई छ ।  साथै धेरै पर्यटक आउने काठमाण्डौँ, पोखरा, चितवन बर्दिया, लुम्बिनी, तिलौराकोट आदि स्थानमा पर्यटन प्रवद्ध गर्नमा सरकारले कुनै कसर बाँकी राख्न नहुनेमा उहाँको जोड छ । हरेक नेपालीले बोल्दा या लेख्दा पनि नेपालको सकारात्मक कुराको बारेमा लेख्नु पर्दछ, उहाँले भन्नुभयो–हामीले हाम्रो नकारात्मकता झल्काउने केही कुरा पनि गर्नुहुँदैन ।  टुरिस्टको लागि शान्त वातावरण, न्यूनतम सुरक्षाको ग्यारेन्टी, राजनैतिक स्थिरता, बाटोघाटो तथा पूर्वाधार निर्माण, न्यानो आतिथ्य,  थप गन्तव्यको पहिचान गर्न सक्ने हो भने पर्यटन नेपालको विकासको महत्वपूर्ण सेतु हुने उहाँको ठम्याइ छ ।

नेपाल बायु सेवा संचालक संघका केन्द्रिय सदस्य समेत रहनु भएका कँडेलले नेपालको वायु सेवामा पनि सुधार आवश्यक रहेको बताउनु भयो । पछिल्लो समयमा नेपाली आकाश सुरक्षित जस्तो देखिए पनि विश्व समुदायमा कालो सुचिमै रहनुले पर्यटकहरुलाई कुनै न कुनै असर पार्ने उहाँको भनाई छ । आइकाओको सुचिबाट नेपाल निक्लनु हाम्रो लागि राम्रो भएको भन्दै उहाँले थप प्रविधि सुधार गर्दै अगाडी जान सके जहाज र हेलिकप्टर दुर्घटनाका खबर नेपालीहरुले सुन्न नपर्ने उहाँले बताउनु भयो । स्थानीय, प्रदेश, संघिय सरकार र जनता मिलेर अघि बढेमा नेपाललाई छिटै विकसित देश बनाउन सकिने बताउँदै भ्रमण वर्ष सफल बनाउन हेलिकप्टर सोसाइटी एकजुट भएर लागेको उहाँले बताउनु भयो ।

पुरा सुन्न तल क्लिक गर्नुहोला ।

आजको समय संवादका अतिथी हुनुहुन्छ योजराज कंडेल शर्मा पर्यटनविद् : महासचिव : हेलिकप्टर साेसाईटी नेपालसिइओः हेली एभरेष्ट प्रालीकेन्द्रिय सदस्य : वायु सेवा संचालक संघ

Posted by मायादेवी अनलाइन डट कम on Thursday, January 2, 2020

प्रकाशित मिति : १८ पुस २०७६ शुक्रबार ००:००  ७ : ०४ बजे