५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मानवमुत्रको प्रयोग गर्न थालेपछि म्याग्दीमा सुन्तला उत्पादन दोब्बर



म्याग्दी ।
मंगला गाउँपालिका–५ अर्मनका किसानले मानवमुत्रको प्रयोग गर्न थालेपछि सुन्तला उत्पादन दोब्बरले बढेको छ। यस वडाका अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा अघिल्लो वर्षहरुमा १०–१२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेकोमा यस वर्ष करिब ३० लाख रुपैयाँको बिक्री भएको किसानहरुले बताएका छन्। अर्मनमा करिब ५० घरधुरी किसानले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले बताए।
उनले आफ्नो सुन्तलाबारीबाट यस वर्ष दुई लाख २७ हजार रुपैयाँको सुन्तला बिक्री भएको बताए। यस्तै, आरुखोलाका धनबहादुर छन्त्यालले एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले एक लाख ४३ हजार, मठबोटका रबिलाल छन्त्यालले एक लाख ७८ हजार, टेकबहादुर श्रीसले एक लाख २२ हजार र दिलबहादुर छन्त्यालले एक लाख १ हजार रुपैयाँको सुन्तला बिक्री गरेका छन्। उनीहरुको सुन्तला पोखराबाट आएका व्यापारीले बगानमै खरिद गरेका थिए। सुन्तला बगैंचामा मलको रुपमा मानवमुत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन बढेको मंगला गाउँ कार्यपालिका सदस्य समेत रहेका खोलखर्कका सुन्तला किसान रत्नबहादुर बिश्वकर्माले बताए।
सुन्तला उत्पादन राम्रो भएपछि यहाँका किसानहरुले कोदो, मकै खेती गर्दै आएको बारीमा समेत सुन्तला खेती बिस्तार गर्न थालेको विश्वकर्माले बताए। ‘गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलो पटक अर्मनमा गत वर्षदेखि मानवमुत्र संकलन गर्न सुरु गरिएको थियो,’ सदस्य विश्वकर्माले भने, ‘अहिले यो अभियान उपलब्धिमुलक बनेको छ।’ अर्मनको शिशु कल्याण माविमा संकलन गरिएको मानवमुत्र प्रतिलिटर २५ रुपैयाँमा खरिद गरी सुन्तला खेतीमा प्रयोग गरिएको किसान सीता सापकोटाले बताइन्।
यसका साथै प्रत्येक घरघरमा पनि मानवमुत्र संकलन गरिँदै आइएको छ। समुद्री सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको अर्मन गाउँलाई मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ९ : २८ बजे