७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रधानमन्त्री ओलीलाई सरकार चलाउने नैतिक अधिकार रहेनः शेखर कोइराला



नेपालगञ्ज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई सरकार चलाउने नैतिक अधिकार नरहेको बताएका छन् । कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको करा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अब प्रधानमन्त्रीलाई वर्तमान सरकार चलाउने नैतिकता नभएको बताएका हुन् ।

प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको बताए ।‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका व्यक्तिहरु सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो ।’

कोइरालाले अख्तियारले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै असन्तुष्टि जनाए । कोइरालाले कांग्रेसमा गुट उपगुटले नराम्रो असर पारेको बताउँदै आगामी महाधिवेशनदेखि गुट उपगुट बन्द हुने बताए।कोइरालाले शनिबार नै कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिलाई जनसरोकारका काममा ध्यान दिन निर्देशन दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  ६ : ४५ बजे