२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तु आएर शेखर कोइरालाले मागे प्रधानमन्त्रीको राजीनामा



मणि प्रसाद गैह्रे, तौलिहवा ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री के.पी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनु पर्ने बताएका छन् । तौलिहवामा नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदमा ४ अर्व २० करोड रुपैयाँ निर्वतमान संचारमन्त्री गोकुल बास्कोटाले घपला गर्न लागेको कुरा २ महिना अगाडी प्रधानमन्त्रीलाई अडियो थाहा हुँदा पनि कुनै कारवाही र सुनुवाई नगर्नुले प्रधानमन्त्रीको पनि मिलेमतो भएको आशंका समेत उनले व्यक्त गरे । ‘यस्तो अवस्थामा प्रधानमन्त्रीजीले नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्छ, कोइरालाले भने ।’
साथै उनले वर्तमान सरकारले ल्याउन लागेको नेपाली सेना संचालन सम्वन्धी विधेयक होस या सूचना प्रविधि विधियक जस्ताको त्यस्तै पास भएमा नागरिकको सर्वोच्चता हराउने र लोकतन्त्र नै खतरामा पर्ने बताए । सरकारले संबैधानिक निकायहरु सबै सरकारको कब्जामा राखेको कारण सरकारले जे गरेपनि हुने कामहरु भएको समेत उनले उल्लेख गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुटार जग्गा प्रकरण होस या यती कम्पनीलाई दिएको जग्गा प्रकरण सबै सरकारको आदेशमा सरकारले जे भन्छ त्यो अनुसार मात्र अनुसन्धान गरेको बताए । कुनै मुद्धा परेमा नेकपा बाहेक जो कोही भए प्रकाउ गर्ने वा अनुसन्धान गर्ने र नेकपाका नेता तथा कार्यकर्तालाई उन्मुक्ती दिने मात्र काम गरेको समेत कोइरालाले आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले काण्डै काण्डको सरकारले गरेका कामहरुबारे आम जनतालाई वडा वडामा गएर जानकारी दिनुपर्ने बताए । त्यसको लागि अभियान थाल्नु पर्ने बेला आएको उनले बताए ।
अर्का केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान सरकारले अझै तीन वर्ष यसै तरिकाले सरकार चलाए नेपाली कांग्रेस जनताको माझमा भोट माग्न नै जानु नपर्ने वताए । सरकारले जनताको ढाड सेक्ने तथा भष्ट्रचारमा लिप्त हुने र सयौं काण्ड मच्चाएको हुँदा जनता सरकारसंग आजित भएको बताए ।
कार्यक्रममा नेताहरु दीप कुमार उपाध्याय, डा. शोभाखर पाराजुली, डा. गोविन्द्र प्रसाद पोखरेल, अमरसिंह पुन, शिव लम्साल, कमलेश शर्मा, राजेश आचार्य, सुधाकर पाण्डेय, इन्द्रिरा भट्टराई लगायतले बोलेका थिए ।
जिल्ला पार्टी सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा भएको कार्यक्रमको स्वागत माधव पराजुली र संचालन सचिव प्रेम बहादुर रायमाझीले गरेका थिए । कार्यक्रममा आसन्न १४ औ महाधिवेनमा पार्टीलाई एक बनाएर लानको लागि सबैले स्थानीय स्तरबाट खबरदारी बनाई पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ६ : ३८ बजे