२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

विगतका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौंः मुख्यमन्त्री भट्ट



डोटी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताएका छन् ।

प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवासगृहको आज शिलान्यास गर्दै उनले ती क्षेत्रको थप विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्रथामिकता दिँदै आवश्यक रकम विनियोजन समेत भएको जानकारी दिए । प्रदेश सरकारको रु ३० लाखको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवासगृहे निर्माण गरिन लागिएको हो ।

मुख्यमन्त्री भट्टले भने, “ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौँ पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौँ ।”

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए । उनले थपे, “सुदूरपश्चिमभरिकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो ।
खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।”

मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दनसमेत गरेको थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशङ्कर भट्टले बताए । रासस

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ७ : ४० बजे