१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तस्करबाट लुटियो वाणगंगा नदी ! रातभर उत्खनन, लकडाउन मालामाल (भिडियोसहित)



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले मुलुकभर लकडाउन गरेर सबैलाई होम क्वारेनटाइनमा बस्न भनेको बेला कपिलवस्तु वाणगंगाका तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ । विगत केही दिन यता वाणगंगा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको वाणगंगा–५ मधौलीयाका स्थानीयबासीले बताएका छन् ।
लकडाउनको मौका छोपेर नदीजन्य पदार्थको उच्च दोहन भएको कुरा प्रहरी र स्थानीय तहका जनप्रतिनिधिलाई बताएको भएपनि कतैबाट सुनुवाई नभएको स्थानीयको गुनासो छ । स्थानीयको गुनासो बढेपछि मायादेवी अनलाइनको टोली बुधबार विहान उक्त क्षेत्र पुगेको थियो ।
नदी नजिकै रहेका लुम्बिनी र वाणगंगा क्रेसरको सामुन्नेबाट तस्करहरुले नदीजन्य पदार्थ उत्खनन गरी डम्पिङ गरेर राखेको पाइएको छ । त्यहाँ झण्डै ५ सय ट्रली नदीजन्य पदार्थ छ । उक्त पदार्थ आखाँले देख्न सकिने अवस्था पनि छैन् ।
नदीको उकास क्षेत्रबाट सबैभन्दा बढी दोहन भएको हो । त्यस क्षेत्रमा ठूला ठूला खाडल बनेका छन् । यसले गर्दा मधौलीया सामुदायिक बन नै उच्च जोखिममा रहेको छ । बनले लगाएको तारबार भत्काउने गरी तस्करहरुले नदीजन्य पदार्थ निकालेका हुन् । नदीको बीच भागमा पनि उत्तिकै मात्रामा दोहन भएको छ ।


वाणगंगा नगरपालिकाले नदीको ठेक्का लगाई सकेको छ । अहिले लकडाउनले गर्दा काम ढप्प छ । अहिले तस्करहरुले उत्खनन गरेको क्षेत्रमा ठेक्का नै लागेको छैन । यो क्षेत्र नदीजन्य पदार्थ उत्खननका लागि प्रतिवन्धित क्षेत्र हो ।
मधौलीयाका स्थानीयले यो विषयमा इलाका प्रहरी कार्यालय पिपरा र वाणगंगा नगरपालिकामा पटक–पटक मौखिक तथा लिखित उजुरी दिएपनि कतैबाट सुनुवाई नभएको गुनासो गर्छन । ‘हामीले यो विषय रोक्न माग गर्दै पटक पटक सम्बन्धित निकाय समक्ष मौखिक तथा लिखित उजुरी समेत दियौं तर, सुनुवाई भएन । मधौलीयाका एक स्थानीयले भने’,–“यो विषयमा सबैको मिलेमतो त भएको छैन ? हाम्रो आशंका छ ।”
सोमबार राति तस्करहरुले रातभर नदीजन्य पदार्थ निकालेको खबर आफुहरुले पाएपनि त्यहाँ गएर रोक्ने आँट नभएको उनले बताए । ‘हतियार सहित तस्करहरु आउँछन भन्ने सुनेका छौं, उनले भने’,–“यस्तो बेला ज्यानको खतरा मोलेर त्यहाँ पुग्न सकिएन, सरोकारवालालाई खबर गर्दा सुनुवाई भएन ।” तस्करहरुले राति १० बजेदेखि विहान ५ बजेसम्म नदीको दोहन गर्ने गरेको उनले बताए । क्रेसरको नजिकैबाट नदीजन्य पदार्थको दोहन हुँदा क्रेसर सञ्चालक किन मौन बस्ने गर्छन ? स्थानीयले प्रश्न गर्छन । यो विषयमा यिनीहरुको पनि मिलोमतो हुन सक्ने स्थानीयले आशंका गरेका छन । एक स्थानीयले बताए अनुसार छिमेकी एक क्रेसर उद्योगसंग मिलोमतो गरी उत्खनन गरेको माल तस्करहरुले बेच्ने गरेका छन् ।
राज्य शक्तिको ओतमा यो काम भएको भन्दै तस्करहरुलाई कारबाही होला र भन्दै स्थानीयबासीले आशंका व्यक्त गर्छन । यो विषयमा खुलेरै बोल्न समेत स्थानीय डराउँछन । “यो बारेमा खुलेर बोल्ने स्थिती छैन, बोल्दा वित्तिकै ज्यानको खतरा छ एक स्थानीयले भने’,–“डनहरुको संलग्नतामा यो काम भैरहेको छ ।” मधौलीयाबासीले उत्खनन गरी राखिएको माल लिलाम गर्न माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोशीले यो विषयमा मधौलीयाका स्थानीयबासीले पत्र दिएको भएपनि लकडाउनको कारण त्यता तिर ध्यान दिन नसकेको बताउनुभयो ।
वाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणी अर्यालले यो विषयमा आफुहरुलाई केही थाहा नभएको बताउनुभयो । ‘मलाई यो विषयमा केही जानकारी छैन, तपाईले भनेर मात्र थाहा पाए उप प्रमुख अर्यालले भन्नुभयो’,–“के भएको रैछ साँझसम्म स्थलगत अनुगमनमा निस्कन्छु ।”
मधौलिया सामुदायिक बनका अध्यक्ष खडानन्द गौतमले वाणगंगा नदीको बर्षेनी दोहन हुँदा बन क्षेत्र नै जोखिममा रहेको बताउँनुहुन्छ । बन क्षेत्र भित्र तारवार गरेर संरक्षण गरिएको भन्दै उहाँले नदी दोहनले यो नै खतरामा रहेको बताउनुभयो ।
नदीको दोहन हुँदा नदी नै खेलमैदानमा परिणत भएको छ । उत्खननको दोहन अत्याधिक हुँदा बर्षेनी नदीले ढाड फेर्दै लगेको छ ।
हेर्नुहोस स्थलगत भिडियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  १२ : ०८ बजे