१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चौध दिन होम क्वारेन्टाइनमा बसेका दुई युवा परिवारको जिम्मामा, कस्तो रह्यो अनुभव (भिडियोसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
घरकै क्वारेनटाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका दुई युवालाई बुधबार परिवारको जिम्मा लगाइएको छ । कपिलवस्तुको वाणगंगा १ बैरियाका रहेका ती दुई युवालाई १४ दिनको प्रत्यक्ष निगरानीमा स्वास्थ्य समस्या नदेखिएपछि परिवारको जिम्मा लगाइएको हो ।
चैत्र ११ गते भारतको गोहाबाट रुपडिया नाका हुदै वाणगंगाका रिजन पुन र हरि घर्तीमगर नेपाल भित्रिएका थिए । उनीहरुले ६ महिना देखि भारतको गोहा स्थित एक होटलमा काम गर्दै आएका थिए ।
नेपाल भित्रिदा लकडाउनको कारण सिमामा रोकिएका युवाहरुलाई आ–आफनो गन्तब्यमा वसमार्फत पठाइएको उनीहरुले जानकारी दिएका छन् । सिमा क्षेत्रमा रोकिएका उनीहरुलाई घर आइसकेपछि वडाको समन्वयमा क्वारेन्टाईनमा राखिएको थियो ।
वडाले भारत लगायतका बाहिरी देशबाट आएका व्यक्तिलाई खोजविन गरी अनिवार्य क्वारेन्टाइनमा राख्ने भने अनुरुप राखिएको वाणगंगा नगरपालिका १ की वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारीले जानकारी दिनुभयो ।
उनीहरुलाई वडामा बनाइएका क्वारेन्टाइनको असुविधामा होम क्वारेन्टाइनमा अलग्गै राखेर प्रत्यक्ष निगरानी गरी १४ दिनपछि मात्र परिवारमा जिम्मा लगाइएको वडा अध्यक्ष पन्थले बताउनुभयो ।
घरमै अलग्गै क्वारेन्टाइनमा रहेका ती युवाहरुको शुरुदेखि नै निगरानी राखिएको पिपरा अस्पतालका जनस्वास्थ्य निरिक्षक कुलप्रसाद पन्थीले जानकारी दिनुभयो । १४ दिनको नियमित निगरानी हेर्दा स्वास्थ्य अवस्था सामान्य रहेको र हाल कुनै लक्षण नदेखिपछि अझ एक हप्तासम्म सावधानी अपनाउन घर परिवारमै रहन सुझाव दिएको स्वास्थ्य निरिक्षक पन्थीले जानकारी दिनुभयो ।
होम क्वारेन्टाइनमा प्रत्यक्ष निगरानी रहेका ती व्यक्तिको स्वास्थ्यमा कुनै समस्या छैन, निरिक्षक पन्थीले भन्नुभयो–“स्वास्थ्य किटको अभावले परिक्षण गर्न नसकिएपनि उनीहरुलाई अब क्वारेन्टाइन राखिराख्नु पर्दैन ।”
स्थानीय समाजसेवी डोलकराम घिमिरेले उनीहरुलाई अझै समुदायमा गएर हिडडुल नगर्न र घरपरिवारमै सुरक्षित रुपमा बस्न अनुरोध गर्नुभएको छ । सरकारी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको हकमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा उनीहरुको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज हुने गरेका छन् ।
सरकारले सवै स्थानीय तहमा भारत लगाएत अन्य मुलुकबाट नेपाल आएका व्यक्तिबाट कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै अनिवार्य क्वारेन्टाइनमा राख्ने बताएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ५ : ५८ बजे