७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्थानीय प्रशासनद्धारा मुस्लिम धर्मगुरुहरुसंग छलफल



गुलाम अली, कपिलबस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोनाको भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला जिल्लामा यसको रोकथाम र सावधानीमा कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुसंग छलफल गरेको छ । धार्मिक हिसावले मुस्लिमहरुको भेला र अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन पनि आग्रह गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ आफनो घरमा नमाज पढ्न पनि आग्रह गरिएको छ । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ता भित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरस बिरुद्ध सचेतना गर्न सवै मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम धर्म गुरुहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रदेश पाँच मदरसा बोर्डका उपाध्यक्ष मैलाना मसुद खाँले नेपाल सरकारले गरेको लकडाउनको आदेश पूर्ण रुपमा पालना गरीरहेको बताउनु भयो । नेपालमा कपिलवस्तु जिल्ला दोश्रो सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको बताउदै उपाध्यक्ष खाँले नमाज पढ्न सवैभन्दा भिड हुने शुक्रबार मस्जिदमा नमाज पढ्न रोक लगाइसकेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति अखिल मियाँले नेपाली मुस्लिमहरु सधैभरी आफनो देशको अप्ठ्यारो परिस्थीतिमा जति सुकै दुख कष्ट सहेर सहयोग गर्न तयार रहेको बताउनु भयो । मुस्लिम धर्मगुरु जामल शाहले लकडाउन भन्दा अघि शुक्रबार पढ्ने सामुहिक नमाज पूर्णरुपमा रोक लगाएर घरमै पढ्ने गरेको बताउनुभयो । उहाँले भारतीय मिडियामा आरोप लगाए जस्तो तबलीकका कारण भाइरस फैलिएको भन्ने गलत प्रचार भएको स्पष्ट पार्नुभयो । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मुस्लिम धर्मगुरु, अगुवा, समाजसेवी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ८ : २२ बजे