२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

खरको छानो मुक्त अभियानमा शीतगंगा नगरपालिका



मायादेवी अनलाइन, अर्घाखाँची
अर्घाखाँचीको शीतगंगा नगरपालिका खरको छानो मुक्त अभियानमा जुटेको छ । नगरको वडा नं. २, ३, ४ लाई छानामुक्त गर्ने निर्णय भए बमोजिम प्रति वडा ५६ घरधुरीलाई वितरण गर्ने कार्यका लागि वडा बासीहरुलाई बिवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

यो संगै नगरपालिका खरको छाना मुक्त अभियानमा औपचारिक रुपमा जुटेको हो । आर्थिक बर्ष ०७६÷०७७ को खरको छानामुक्त कार्यक्रम अन्तर्गत खरको छानो भएकाहरुले वडा कार्यलयमा सम्पर्क गर्न नगर प्रमुख सुर्य प्रसाद अधिकारीले आग्रह गर्नुभएको छ ।

नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फिटे २५ वटा जस्तापाता उपलब्ध गराइने छ । यस्तै फरक क्षमता भएका, अल्पसंख्यक, दलित र चालु आ.व. भन्दा पहिले आगलागी तथा विपदमा परि प्रहरी मुचुल्का तयार भएका घरहरुले समेत जस्तापाता प्राप्त गर्ने छन ।

यस्तै जस्ता प्राप्त गर्नेमा दोहोरो वसोवास तथा अन्यत्र घर भएका व्यक्ति समावेश हुने छैनन् । १४ वडा नै खरको छानो मुत्त गर्ने योजना नगरपालिकाको रहेको भए पनि वडा नम्बर २, ३ र ४ यो बर्ष खरको छानो मुक्त गराउने तयारी छ ।

वडा नम्बर ३ मा ५ घर खरको छानो मुक्त हुन बाँकी रहेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । नगरपालिकाले यो बर्ष प्रत्येक वडामा ५४ घरधुरीका लागि जस्तापाता बितरण गर्न लागेको छ ।

यस्तै वडा नम्बर ४ मा ६० घर बाँकी रहेको वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनु भयो । यो बर्ष वडा नम्बर ४ पुर्णरुपमा खरको छानो मुक्त हुने वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । यस्तै वडा नम्बर २ मा पनि विवरण संकलनको काम भइरहेको वडा अध्यक्ष गोवर्धन थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ३० बजे