१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कपिलवस्तुमा लकडाउन अवधिभर सात बलात्कारका घटना, आफन्तबाटै बढी डर !



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण एक महिना देखि लकडाउन जारी रहेका बेला कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् । चैत्र ११ गते देखि लकडाउन सुरु भए यता जिल्लामा ७ वटा बलात्कारका घटना सार्वजनिक भएका हुन् । अधिकांश घटना आफन्त र छिमेकीबाटै घटेका छन् ।
करणीको ७ घटना मध्ये ६ वटा नाबालिका रहेको प्रहरीले जनाएको छ । घटनाका पीडीत १० नाबालिका र एक महिला रहेका छन् । ७ वटै घटना आफन्त छरछिमेकबाट भएका हुन् । प्रलोभनमा पारेर तथा ललाई फकाई करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

नाबालिकलाई प्रलोभनमा पार्न र फकाउन सजिलो भएकाले अहिले नाबालिकाहरु नै बलात्कारको शिकार भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो । बालिकाहरु आफन्त र चिनजान भएका ब्यक्तिहरुबाटै असुरक्षित भएको मल्लले बताउनुभयो ।

जिल्लाका ५ पालिकामा सात जबरजस्तीकरणीका घटना भएका हुन् । घटनाका आरोपी ९ जना मध्ये ७ जना पक्राउ परेका छन् ।

बैशाख ११ कपिलवस्तु नगरपालिका– १ आनन्दबाग स्थित तौलेश्वर फर्निचर उद्योगका मालिक ६९ बर्षीय नन्दकिशोर बढईले २ नाबालिकलाई करणीको प्रयास गरे । उनले कपिलवस्तु नगरपालिका वडा नम्बर–१ धोबीटोलमा आफैले सञ्चालन गरेको फर्निचर उद्योगमा सोही स्थानका ९ र १२ बर्षीय दुई बालिकालाई बोलाई करणी प्रयास गरेका थिए ।

बढईलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाए । बढईमाथी जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरि कपिलवस्तु अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिनुभयो ।

उता एक साता अघि कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ गजेहडामा ४ नाबालिकालाई दुई जनाले बलत्कार गरे । पीडीत बालिका सबै १० बर्ष मुनीका छन । १७ बर्षीय मुस्कान शर्मा र ४२ बर्षीय तिलकराम गुप्ताले फरक फरक समयमा ती बालिकालाई करणीको प्रयास गरे ।

पीडीत बालिकाहरुको परिवार र आफन्तले दोषी उपर कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा घेराउ गर्दै किटानी जाहरी दिए । सोही आधारमा शर्मा र गुप्तामाथी करणीको मुद्दा दर्ता गरेर अदालतबाट म्याद समेत थपिएको इलाका प्रहरी कार्यालय पिराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले बताउनुभयो ।

गत बैशाख ३ गते शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १४ बर्षीया बालिकालाई बर्ष २२ को सागिर अलि शेष (पाँचु) भनिने व्यक्तिले बलात्कार गरे । स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लागी युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ ।

युवकले बालिकालाई ३ पटक बलात्कार गरे । घटनाको आरोपमा रेहानालाई प्रहरीले पक्राउ गरेको छ भने शेष फरार छन् । गत बैशाख १ गते कपिलवस्तु नगरपालिका– ३ औरहियाका ५० बर्षीय रामदवन बेल्दार १७ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । नयाँ बर्षको दिन ललाईफकार्ई दिउँसो बेल्दारले ती नाबालिकालाई करणी गरेका थिए ।

गत चैत २१ गते साँझ ६ बजेतको समयमा शिवराज नगरपालिका– १ का ३६ बर्षीय गणेश क्षेत्रीले २० बर्षीया महिलालाई करणी गरे । ती महिलाको परिवारको उजुरीका आधारमा क्षेत्री पक्राउ परेका थिए ।

चैत १३ गते मायादेबी गाउँपालिका– ४ गौराका २५ बर्षीया एजाज मुसलमानले १३ बालिकालाई बलात्कार गरे । राति १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा उनले नाबालिकालाई बलात्कार गरेका थिए । घटना पछि उनी फरार छन् ।

गत चैत १० गते शुद्धोदन गाउँपालिका– ४ का एक १६ बर्षीय नाबालकले १४ बर्षीया नाबालिकालाई बलात्कार गरे । जबरजस्तिकरणीको आरोपमा ती नाबालक प्रहरी हिरासतमा छन् । सात वटै जरबजस्तीकरणीको मुद्दा दर्ता भई अदालतबाट म्याद समेत लिएको प्रहरी नायब उपरिक्षक मल्लले बताउनुभयो । चालु आर्थिक बर्षको अहिले सम्म कुल २६ वटा जरबजस्ती करणीको मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ८ : ५० बजे