१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सीमामा अलपत्र आफ्ना नागरिकलाई अर्घाखाँची ल्याउँदै स्थानीय तह



बिष्णु कुमार आले, अर्घाखाँची ।
रोजगारीको शिलसिलामा भारतको विभिन्न शहरमा पुगेर काम गरिरहेका अर्घाखाँचीबासीहरु अहिले जिल्ला फर्किरहेका छन् । कोरोना र लकडाउनका कारण भारतमा अलपत्र परेका जिल्लाबासीहरूले घर फर्किन निकै सास्ती खेपिरहेका छन् ।

उनीहरूलाई अर्घाखाँचीका कतिपय स्थानीय तहले गाडीमा भाडा तिरेर जिल्ला ल्याउने गरेका छन् । जिल्ला ल्याइएपछि उनीहरूलाई सम्बन्धित वडा तहमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ । अर्घाखाँचीमा पछिल्लो एक हप्तामा भारतबाट आएका १ हजार ९१ भन्दा बढी व्यक्तिलाई क्वारेण्टाइनमा राखिएको छ ।

भारतमा रोजगारीको शिलसिलामा गएकाहरु एक हप्तामा मात्र १ हजार ९१ जना जिल्ला भित्रिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका ६ स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा शनिबार बेलुकासम्म १ हजार ९१ जना रहेका छन् । भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाका ७९ स्थानमा ९ सय १३ वटा बेडसहितका क्वारेन्टाइनहरु बनाएपनि भारतबाट आउनेको चाप बढेपछि क्वारेन्टाइन स्थान र बेडहरू थपिएको छ । लगातार भारतबाट सयौंको दरमा नागरिक जिल्ला भित्रिन थालेपछि स्थानीय तहले उनीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।

शीतगंगामा नामका मात्र क्वारेन्टाइन

जिल्लाका अधिकांश विद्यालय, सामुदायिक भवन, एकान्त घरगोठमा क्वारेन्टाइन बनाएर राखिएको छ । जिल्लाका स्थानीय तहमध्ये शीतगंगा नगरपालिकामा पछिल्लोपटक बनाईएका क्वारेन्टाइन नामका मात्रै छन् । नगरको सुवर्णखाल, जुकेना, सिमलपानी जस्ता ठाँउमा स्थानीय घर नजिकै रहेका आधारभूत विद्यालयमा भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसेका हरूलाई आफ्नो घरबाटै लत्ताकपडा लैजाने, साँझबिहानको खाना पनि घरको परिवारले लगिदिने गरेका स्थानीयको भनाइ छ ।

क्वारेन्टाइनमा बसेका नागरिकहरूसँग घरका अन्य परिवारहरू पनि हेलमेल गरेको पाईन्छ । वडा तहको फितलो क्वारेन्टाइन भएपछि सक्रमित फैलिने डर भएको स्थानियको गुनासो छ ।
क्वारेन्टाइनमा बसेकाहरूलाई स्यानिटाईजर त परको कुरा भयो तर हातधुने साबुनसमेत छैन । मुखमा लगाउने माक्स छैन । उनीहरूले घरबाट पकाएर परिवारले ल्याईदिएको खाना खाने गर्दछन् ।
परीक्षण गर्न किट छैन

जिल्लाका कतिपय स्थानीय तहहरूमा किटको अभाव हुँदा क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी र पिसिआर जाँच गर्न सकिएको छैन् । क्वारेन्टाइनमा बसेको १८, १९ दिन हुँदासमेत किटको अभावमा आरटिडी, पिसीआर जाँच गर्न नसकिएको भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले बताए ।

नगरले सीमापारि अलपत्र परेका नागरिकलाई घर ल्याउन मासिक भाडा तिरेर एउटा बस संचालनमा ल्याईएको उनले बताए ।

कुन स्थानीय तहमा कति ?

शनिबारसम्म विभिन्न क्वारेन्टाइनमा १ हजार ९१ जना रहेका छन । जसमध्ये सन्धिखर्क नगरपालिकामा १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म २० जनाको आरटिडी, ३२ जनाको पिसीआर जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए ।

त्यस्तै, भूमिकास्थान नगरपालिकामा २ सय ७५ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म २० जनाको आरटिडी र ३२ जनाको पिसिआर जाँच गरिएको छ । सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

यस्तै शीतगंगा नगरपालिकामा २ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४३ जनाको आरडिटी र १७ जनाको पिसिआर जाँच गरिएको छ । जसमध्ये ७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको र १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

पाणिनी गाउँपालिकामा ७३ जना क्वारेन्टाइनमा छन्। शनिबार ५ जनाको पिसिआर जाँचका लागि स्वाव निकालेर भैरहवा पठाइएको स्वास्थ्य प्रमुख शेषकान्त घिमिरेले जानकारी दिए । मालारानी गाउँपालीकामा २ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४२ जनाको आरडिटी र ९३ जनाको पिसिआर जाँच गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

त्यस्तै, छत्रदेव गाउँपालिकामा ८५ जना क्वारेन्टाइनमा बसेका छन् । ९ जनाको पिसिआर जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । यस्तै, जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लाभर कति परीक्षण ?

अहिलेसम्म जिल्लाभरि १ सय २५ जनाको आरडिटी र १ सय ८८ जनाको पिसिआर जाँच गरिएको छ । किटको अभावमा जाँचको संख्या कम भएको स्थानीय तहहरूले जनाएका छन् । आइतबार पनि जिल्ला सीमापारिबाट जिल्लाा भित्रिनेक्रम जारी छ। ठूलो संख्यामा जिल्लाका ६ ओटै स्थानियतहमा सिमापारी अलपत्र परेका नागरिकलाई ल्याइने स्थानीय तहहरूले जनाएका छन् ।

यस अघि जिल्लाका मालारानी, सन्धिखर्क, भुमिकास्थान, पाणिनी, छत्रदेव नगर तथा गाँउ पालीकाहरूले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई गाँउ फर्काउदै गर्दा शीतगंगा नगरपालिकाले बेलैमा चासो दिन सकेन । पछिल्लो समय शीतगंगाबाट रोजगारीका लागी भारत पुगेका नागरिकको चर्को बिरोध र बिभिन्न संचारमाध्यमबाट समाचार लगातार प्रसारण भएपछि गत सुक्रबार बसेको नगरकार्य समितीको बैठकले सिमापारी अलपत्र परेका नागरिकलाई नगरपालीकाले भाडा तिरेर ल्याउने निर्णय गरेको हो ।

अरू पालीकाले जस्तै यस अघिनै नगरले भारतमा जागिर छोडेर अलपत्र परेका नागरिकलाई ल्याउने प्रयास गरेको भए उनिहरूले लामो समय सम्म सास्ती खेप्नु पर्ने थिएन । अरू पालिकाको सिको गर्दै ढिलै भएपनि नगरपालीकाले चालेको यो कदम उपयुक्त छ । नागरिकले जनप्रतिनिधि भएको महसुस गरेका छन् । तर सयौं जना नागरिक आफ्नो घर ल्याउदै गर्दा सुरक्षित क्वारेन्टाइनको व्यवस्था नहुदा गाउँ असुरक्षित भएको स्थानियको गुनासो छ ।

अब गाँउ गाँउमा सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन, क्वारेन्टाइनमा प्रहरी प्रशासन, स्वास्थ्यकर्मीको बलियो निगरानी, स्वय्मसेवक परिचालन, क्वारेन्टाइनमा खानाको व्यवस्थापन र किटको अभाव हुन नदिने जस्ता बिषयमा सिङ्गो नगरपालिका, जनप्रतिनिधि र सरोकारवालहरू बिषेश ध्यान पुराउन आवश्यक छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ५ : ११ बजे