१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

वडाध्यक्षको गुनासोः दिनभर लगाएर क्वारेनटाइन बनायौं, साँझ ठूलै नेता बस्दैनौं भन्दै हिँडे



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष पवनकुमार चौधरीले ठूलै नेतालाई सम्हाल्न गाह्रो परेको गुनासो गर्नुभएको छ । आइतबार दिनभर लगाएर क्वारेनटाइन निर्माण गरेर साँझ राख्ने बेलामा यस्ता क्वारेनटाइनमा बस्दैनौं भन्दै ठूला नेता घरमा हिडेको वडाध्यक्ष चौधरीले गुनासो गर्नुभयो ।

मायादेवी अनलाइनसंग सोमबार विहान कुराकानी गर्दै उहाँले वडाभित्र दुई दाजुबहिनीलाई कोरोना पुष्टि भएपछि वडामा क्वारेनटाइन निर्माण गरिएको सुनाउनुभयो । शनिबार वडाभित्रका दुई दाजुवहिनीलाई वाणगंगाबाट गरिएको स्वाव परिक्षणमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि गाउँभरी त्रास सिर्जना भएको र यी दुई जनासंग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राख्ने गरी वडाको पहलमा भृकृटी मावि बुड्ढीमा क्वारेनटाइन बनाइएको उहाँले सुनाउनुभयो । ‘दिनभर घाम नभनेर म लगायतका साथीले क्वारेनटाइन बनायौं, क्वारेनटाइनमा चाहिनेजति सबै लत्ताकपडा किन्यौं, पानीका आठ ओटा छुट्टा छुट्टै धारा बनायौं, तर, साँझ ठूला नेताले हामी यहाँ बस्दैनौं भन्ने हिडे, उहाँले भन्नुभयो, ‘यस्तो भएपछि कसरी कोरोना नियन्त्रण गर्न सकिएला ।’

ठूला नेता हिँडेपछि क्वारेनटाइनमा बस्न आएका गाउँका ४९ जना पनि बस्दैनौं भनेर घर हिँडेको उहाँले बताउनुभयो । ‘ठूला नेता नबस्ने हामी किन बस्छौं, भन्दै अरु पनि हिँडे उहाँले भन्नुभयो ।’

कसरी देखियो बुड्ढीमा कोरोना ?

साविक बुड्ढी गाविस पर्ने वडा नं. ४ मा भेटिएका दुई दाजुबहिनी एक महिना अगाडी भारतको दिल्लीबाट घर आएका थिए । लामो समय हजुरआमाको दिल्लीस्थित हस्पिटलमा उपचार भैरहेको थियो । त्यही उपचारको क्रममा हजुरआमाको निधन भयो । लगत्तै यिनीहरु घरमा आएका थिए ।
लकडाउन भित्रै हजुरआमाको निधन भएपछि बुड्ढीबासी मिलेर धार्मिक परम्पराअनुसार सहादत गरे । घरमा दर्जनौं व्यक्ति समवेदना लिएर आए । यी दुई दाजुवहिनी सबैसंग घुलमिल थिए । गाउँलेहरुले दिल्लीबाट आएका हौं कोरोना लागेको त छैन भन्नै जिस्काउँदै गर्थे । घरमा दुःख परेको कारण यी दुवै जना क्वारेनटाइनमा बस्न पाएनन । हजुरआमाको १३ हिने काजकिरिया सकियो । दुवै जना स्वस्थ नै थिए । पछि भारतबाट फर्कनेहरु बढेसंगै जिल्लामा कोरोना संक्रमित थपिएको थपियै थिए । उनीहरु दुवै जनालाई पनि शंका भयो । वाणगंगाको स्वाब संकलनमा आएर स्वाब दिए । रिर्पोट शनिबार कोरोना देखिएको आयो ।

योसंगै बुड्ढी गाउँमा खैलाबैला मच्चियो । उनीसंग नजिकिएकाहरु त्रासमा परे । नगरका स्वास्थ्यकर्मीले सम्पर्क व्यक्ति पहिचान (कन्ट्याक्स टे«सिङ) गरे । कन्ट्याक्स टे«सिङ गर्दा १ सय १२ जना सम्पर्कमा आएको खुल्यो । सबैको स्वाब परिक्षण भयो । रिपोर्ट आउन बाँकी छ । यसरी गाउँभरीका मान्छेमा कन्ट्याक्स टे«सिङबाट कोरोना संक्रमितसंग घुलमिल भएको देखिएपछि वडाको पहलमा क्वारेनटाइन बनाएर राख्ने निधो गरेको थियो । १ सय १२ जना मध्ये अरु विभिन्न स्थानका थिए भने ४९ जना बुड्ढी गाउँका थिए । यिनै गाउँकालाई क्वारेनटाइनमा बसाल्न भनेपनि कसैले नमानेका हुन् ।

कोरोना तेस्रो चरणमा प्रवेश गरेको आशंका गरिएको बुड्ढीमा कोहि क्वारेनटाइनमा बस्न नमाने पछि त्रास फैलिएको छ । संक्रमित दुई जना नै विजयनगर गाउँपालिकाले बनाएको आइसोलेशनमा उपचारको लागि पठाइएको छ ।

बुड्ढीमा आइतबार घटेको यस घटनाले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीको विषय बनेको छ । वडाध्यक्ष थारुले अब गाउँबासीलाई कोरोनाबाट कसरी जोगाउँने भन्नेबारे छलफल भैरहेको बताउनुभएको छ । ‘कोरोनाबाट सबैलाई बचाऔं भनेर क्वारेनटाइन बनाएको थिए, त्यो मेरो व्यक्तिगत लागि थिएन तर ठूला नेताले बुज्नुभएन उहाँले भन्नुभयो, अब के हुन्छ हेरौं छलफलमा छौं ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १ : ३८ बजे