१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माफ गर्नुहोला ! कोरोना महामारीमा सेवा गर्न पाइनँः संक्रमित वडाध्यक्ष



मायादेवी अनलाइन, चार नम्बर ।
भाषणमा धाराप्रवाह क्षमता भएका तथा बाणगंगा नगरपालिकामा प्रष्ट वक्ताको छवी बनाउनु भएका एक जना वडाध्यक्ष अहिले बुटवलको एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरमा हुनहुन्छ ।

कोरोना महामारीको समयमा आफ्नो जिउज्यानको प्रवाह नगरी कहिले क्वारेनटाइन बनाउन, कहिले राहत बाँड्न त कहिले सिमामा अलपत्र परेका नगरबासीलाई उद्धार गर्न रातदिन खटिरहँदा उहाँले आफूलाई कोरोना भएको भेऊ नै पाउनु भएन । आफू नगरबासीको उद्धारमा सिमासिमामा खटिएपछि त्यसै बस्न मन लागेन । उहाँले सिद्धार्थ क्याम्पसमा स्वाब संकलन गराउनुभयो ।

कोरोनाको शंकाभन्दा पनि ढुक्क भएर बसौँ न भनेर उहाँले स्वाब संकलन गराउनु भएको थियो । त्यसपछि केही दिनमा रिपोर्ट आयो । रिपोर्टमा उहाँमा कोरोना पोजेटिभ देखियो । यो कुरा स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गर्यो । त्यसपछि उहाँ मात्र होइन नगरबासी अहिले स्तब्ध भएका छौँ ।

उहाँलाई कोरोनाले छोइसकेको रहेछ तर नत उहाँलाई ज्वरो आयो, नत रुघाखोकी लाग्यो नत टाउको नै दुख्यो । उहाँ अविराम जनतालाई कसरी कोरोना महामारीबाट बचाउन सकिन्छ भनेर लाग्नु भयो । जनतालाई सेवा गर्दागर्दै उहाँले अहिले कोरोना उपहार पाउनु भएको छ । तर पनि उहाँको मुहार हँसिलो देखिन्छ । फोनमा बोल्ल्दा पनि कोरोनाका कुनै कणहरु देखिन्न् उहाँमा ।

उहाँलाई आइसोलेसनमा बस्दा पनि परिवार र छरछिमेकको भन्दा जनताकै ज्यादा चिन्ता रहेछ । यो महामारीमा आफूले सेवा गर्न नपाएको भन्दै उल्टै माफी माग्नु भएको छ । यसबाट बुझ्न सकिन्छ कि उहाँमा कति नगरबासीप्रति प्रेम रहेछ भनेर ।

नगरबासी नै स्तब्ध भएको अवस्थामा भने उहाँले एन्फाको आइसोलेसन कक्षबाट जन सेवा गर्न नपाएकोमा माफी माग्दै आफू सन्चै भएको र रत्ति पनि आत्मबल नगिरेको सन्देश पठाउनु भएको छ । नगरमा आइसोलेसन नभएपछि स्कुटर कुदाएरै बुटवल पुग्नु भएका उहाँले आफुलाई कोरोनाको कारण कुनै चिन्ता नभएको र चिन्ता केवल जनताको भएको भन्दै सामाजिक संजालमा केही प्रेरणात्मक कुरा लेख्नु भएको छ । उहाँले लेखेको कुरा सार्वजनिक भए लगत्तै सयौँले उहाँलाई सुस्वाथ्यको प्रतिक्रिया पनि जनाएका छन् । यहाँ उहाँले सामाजिक संजालमा लेख्नुभएको कुरालाई विनासम्पादन जस्ताको तस्तै उतारिएको छ ।

“मानव सेवामा निर्भीक भएर लाग्ने क्रममा अत्यन्तै सचेत रहदा रहदै केहि असावधानी हुन गई केहि दिनको लागि आराम गर्नुपर्ने र एकान्त बास बस्नुपर्ने परिस्थिति आएको छ । यो बेला आफू एकान्त बास बस्नुपरेको कुराले भन्दा ज्यादा आफ्नो उद्धार, ब्यवस्थापन र सेवामा भौतिक उपस्थिति जनाउन नपाउदा हुन गएको कमिको कुराले अलि पिरोलेको छ । हुन त म केहि दिन उपस्थित नहुने कुरा त्यति ठुलो होइन तथापि आफ्नै प्रत्यक्ष सहभागिता र अगुवाइमा हुदैगरेका सेवाका काम हरुमा सम्वन्धित महानुभावहरुमा असर पुग्छ कि भन्ने पिरलो मात्र हो ।

म भन्दा ज्यादा सकृय भएर मेरा सहकर्मी र अग्रज महानुभावहरु लाग्नुभएकै छ । भौतिक रुपमा सङ्गै हुन नपाए पनि भावनाले म सबै सेवारत महान आत्महरुसङ्गै छु । केहि दिनमै पुनः सकृय उपस्थितिका साथ सेवामा लाग्नेछु । बरु मेरो असावधानिको कारण केही असहजता भएको र सेवामा कमि हुन गएकोमा दुख ब्यक्त गर्न चाहन्छु । म ब्याक्तिगत रुपमा अत्यन्तै उत्साहित र उच्च मनोबलका साथ बसिरहेको छु । सकेसम्म एकदिन पनि ढिलो नभई पुनः सकृय सेवामा फर्कने स्थिति बनोस् भन्ने कुरा नै कल्पना गरिरहेको छु ।

माया, सद्भाव, सहानुभूति, सहयोग र शुभेक्षा ब्यक्त गर्ने सबै मित्रजन, आफन्तहरु, सहयोगी, इष्टमित्र, सहकर्मीहरु, अग्रजहरु, शुभचिन्तकहरु तथा निरन्तर सहयात्रामा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी, जनप्रतिनिधि र अन्य सम्पुर्ण सहयात्रीहरुमा सम्मान सहित सलाम ब्यक्त गर्दछु । कोहि कसैलाई त्रसित नहुन र भ्रमित नहुन अनुरोध गर्दै अदम्य मनोबलका साथ सुरक्षित रहि सेवामा लाग्न सबैमा अनुरोध गर्दछु ।

अन्त्यमा मेरो अनुपस्थितिमा मबाट हुने गरेका सबै सेवाका कामहरुमा सधै जस्तै जिम्मेवारी बोध भएर जिम्मेवारी सम्हालि सक्नुभएका मेरा सहकर्मी जनप्रतिनिधि, टोलबिकास संस्थाहरु तथा राजनीतिक सामाजिक संस्था तथा ब्याक्तित्वहरुमा धन्यवाद सहित छिटै भौतिक सहभागीता सहितको सहकार्य हुने कुरा उत्साहका साथमा अनुरोध गर्दछु ।”

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ०९ बजे