२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपालमा ५ हजार जनालाई कोरोना सङ्क्रमण हुने नयाँ प्रक्षेपण



काठमाडौं ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ । अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ ।

यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो ।
तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन् ।

अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन् ।

भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो । यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ ।

त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए । बीबीसी नेपालीबाट

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  १ : ५० बजे