६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नजिक



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपालमा कोरोना संक्रमित एक हजार नजिक पुगेका छन । नेपालका विभिन्न जिल्लामा गरेर आज मात्रै एक सयको हारहारीमा संक्रमित थपिएका छन । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

उता बिहीबारनै कैलालीका दुई जना र दार्चुलाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

यता प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षी अन्वेषण प्रयोगशाखा सुर्खेतमा गरिएको कोरोन परिक्षणमा दैलेखका ८ जनामा कोरोना पुष्टि भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. १, ३, ४ र ५ का गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एक जना महिलाबाहेक अरु पुरुष रहेका छन । यसको पुष्टि कर्णाली स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले गर्नुभएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

बुधबार मात्रै एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १२ : २० बजे