११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

‘अर्घाखाँचीले देखाएको व्यवहार हामीले पनि देखायौं भने कस्तो चोट पुग्ला’ ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले तरकारी डम्पिङमा फालेको विषयमा प्रशासनले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएको छ । कपिलवस्तुका किसान अर्घाखाँचीको घटनाले दुखि भएको भन्दै प्रशासनले आफुले गरेको गल्ती स्विकार गर्नुपर्ने औल्याउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको रेडियो कार्यक्रम कोरोना विशेष संवादमा बोल्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अर्घाखाँचीमा जुन क्रियाकलाप देखियो, कपिलवस्तुमा पनि त्यहि गरे कस्तो चोट पुग्ला ? यो कुरा बुज्न जरुरी छ । घटनाको विषयमा प्रशासनले गल्ती स्विकार्नुको विकल्प छैन ।’

सामान्य विषयमा क्षेत्रियताबाद र समुदाय बीचमा तिक्तता बढाउन नहुने भन्दै यो विषयलाई आपसी मेलमिलापबाट समाधान खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘म जन्मेको पनि अर्घाखाँची नै हो । कर्मभूमिको रुपमा कपिलवस्तु भयो । हामी धेरैजसो यसैगरी बसेका छौं, एकआपसमा चोट पुग्ने काम कसैले गर्नहुन्न, यसले गम्भीर समस्या निम्ताउँन सक्छ, सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।’

नगर प्रमुख श्रेष्ठले अब बस्ने नगर कार्यपालिकाको बैठकमा यो विषयबारे छलफल हुने बताउनुभयो । साथै उहाँले नगरका प्रमुख राजनीतिक दलका नेताहरुसंग पनि छलफल गरेर यो विषयलाई कसरी अगाडि बढाउने भन्ने निर्णयमा पुग्ने बताउनुभयो ।

कपिलवस्तुबाट चामल, तेल, नुन, सिमेन्ट, छड लगायतका सामग्री लैजादा कोरोना नलाग्ने, तरकारीमा कोरोना बहाना बनाएर किसानलाई अपमान गर्ने काम भएको बताउनुभयो । ‘कोरोना राज्य र डब्लूएचओले भनेको मापदण्ड पूरा नगर्दा लाग्छ । तरकारीबाट लाग्छ र ? उहाँले प्रश्न गर्नुभयो, यो किसानलाई अपमान गर्ने बाहेक अरु केहि होइन ।’

आजभन्दा महिना दिन अगाडि बुद्धभूमिका किसानले उत्पादन गरेको तरकारीको सहज वातावरण मिलाउन अर्घाखाँचीका जनप्रतिनिधिलाई भनेको स्मरण गराउँदै आज आएर यस्तो कार्य हुनु दुःखत रहेको बताउनुभयो । यो घटनाले अब किसानहरुले अर्घाखाँचीको विकल्प अन्त खोज्नुपर्छ भनेर आफुलाई भनेको पनि उहाँले सुनाउनुभयो ।

‘बन्दाबन्दीको बेला अपमान पायौं, अब अर्घाखाँचीको विकल्प अन्त खोज्नुपर्छ भनेर किसानले भनेका छन, उहाँले भन्नुभयो, ‘एउटै जिल्लामा धेरै खपत गर्दा समस्या आउने महसुस मैले पनि गरेको छु । अब अरु क्षेत्रमा पनि बजार खोज्न लाग्नुपर्छ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ११ बजे