मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार फेला परेका दुई जना कोरोना संक्रमित समुदायका रहेको पाइएको छ । नगरको वडा नं. ११ भड्डीहवा गाउँका ती महिलाहरु कोरोना रिपोर्ट नआउञ्जेलसम्म घरमै रहेका थिए । समुदायको कन्ट्याक्क ट्रेसिङका क्रममा उनीहरुले गत जेष्ठ १४ गते स्वाब दिएका थिए ।
कोरोना पुष्टि भएका दुवै जना महिलालाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । जेष्ठ १४ गते १ सय ५१ जनामा गरिएको स्वाब संकलन मध्ये ६२ जनाको मात्र रिपोर्ट आएको र त्यसमा दुई जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । अरुको रिपोर्ट अझै आइ नसकेको उहाँले जानकारी दिनुभयो ।
वाणगंगाका विभिन्न क्वारेनटाइनमा हाल ३ सय २४ जना रहेका छन । जसमध्ये ९० जनाको मात्र स्वाब संकलन गरिएको छ ।
सोमबार भेटिएका संक्रमित मध्य एक जनाको स्वास्थ्यमा अलि समस्या देखिएको बताइएको छ । उनमा घाटी दुख्ने र खोकी लाग्ने समस्या भेटिएको स्वास्थ्यकर्मीले बताएका छन । यद्यपि यो सामान्य रहेको र उपचारपछि निको हुने स्वास्थ्यकर्मीको दाबी छ ।
समुदायका महिलामा संक्रमण देखिएपछि सिंगो गाउँमा मंगलबार कन्ट्याक्क ट्रेसिङ गर्ने तयारी भैरहेको नगरपालिका स्रोतले जनाएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार सोमबार वाणगंगा नगरपालिका वडा नं. ११ का ३१ र ३८ बर्षीय दुई महिलामा कोरोना संक्रमण देखिएको हो ।







प्रतिक्रिया