२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गंगा चौधरी भन्छिनः माइतीको कुकुर पनि प्यारो ! भारतीय चेलीलाई सच्चिन चेतावनी



मायादेवी अनलाइन, चार नम्बर ।
प्रतिनिधिसभा सदस्य गंगा चौधरीले राष्ट्रलाई माया गर्नु पर्छ भन्ने कुरा आफुलाई कसैले सिकाई राख्नु नपर्ने बताउनुभएको छ । हालै संसदमा उहाँले दिएको अभिव्यक्ति चर्चामा छ । कतिपयले त्यो विषय अरुले बोल्न लगाएर सांसद चौधरी बोलेको आरोप लगाएका छन । तर, उहाँले नेपालको माटोमा जन्मिएर हुर्किएको आफ्नो रगतको कण कणमा देशको माया भएको बताउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादमा आइतबार कुराकानी गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘राष्ट्रलाई कसरी माया गर्नुपर्छ, राष्ट्रको सुरक्षा कसरी गर्नुपर्छ भन्ने कुरा कसैले सिकाउनु पर्छ ? त्यसको लागि हामी कसैको पछि लाग्नुपर्दैन ।’

उहाँले अगाडी थप्नुभयो, ‘नेपालको माटोमा जन्मिएर हुर्किएका हामी जस्ता व्यक्तिको रगतको कण कणमा नेपालप्रति माया छ । माटो खनेर हेर्नु हुन्छ भने त्यो माटोमा नेपालीपनको गन्ध आउँछ । राष्ट्रबादको गन्ध आउँछ ।’

झण्डै ४० मिनेट रेडियो मायादेवीलाई अन्तर्वार्ता दिनुभएकी सांसद चौधरीले राष्ट्रको विरुद्धमा बोल्ने देशद्रोही रहेको टिप्पणी गर्नुभयो । ‘राष्ट्रको विरुद्धमा बोल्ने जो कोहि देशद्रोही नै हो । हाम्रो देश माटो, ढुंगा, हराभरा प्रकृती जंगलबाट बनेको छ । कतिपयले भन्छन, राष्ट्रबाद ढुंगामा खोज्ने ? हो लिपुलेक ढुङ्गैमा बनेको छ । त्यसकारण मेरो राष्ट्रबाद ढुङ्गैमा खोज्ने हो !’

तराईका असली धर्तीपूत्र, असली राष्ट्रबादी थारु समुदाय भएको उहाँले बताउनुभयो । उहाँले यस विषयमा प्रष्टिकरण दिदै भन्नुभयो, ‘यदी कोरोनाको महामारी तराईमा मात्र हुन्थ्यो भने इन्डियाबाट आएका चेलीहरु, मावली भएकाहरु, काका बराजु भुपाजुहरु, सबै भाग्थे । तर, थारुहरुको न पहाड छ, न भारतमा इष्टमित्र र नातागोता नै छन ! आफु मरेर भूमि कहिल्यै छाडेनन । ठूला ठूला हैजा महामारी, बाघभालुसंग संघर्ष गरेर तराईमा बसेका थारुहरु हुन । असली राष्ट्रबादी थारुहरु हुन, तराईको भूभागको कुरा गर्दा । सोझा थारु, सोझा मधेसी दाजुभाईमाथि काँधमा टेकेर बन्दुक ताक्ने काम भैरहेको छ । जसलाई विश्वास गरेर अमूल्य मत दियौं, जिताएर पठायौं, अस्ति एक जना कपिलवस्तुका संसदको अभिव्यक्ति तपाईले सुन्नुभएन । नेपालले एक इन्च जमीन फिर्ता लिन सक्दैन भने । उनीहरु कहाँबाट परिचालित छन । कस्ले उनीहरुलाई आँट दियो ? एक इन्च जमिन फिर्ता नहुने कुरा उनले कसरी थाहा पाए ? उनीहरुको अभिव्यक्तिबाट के हुन्छ भने उनीहरु छिमेकी राष्ट्रबाट परिचालित छन । यो त हामी भन्नुपर्दैन । सुन्ने, लेख्ने र विद्धानहरुले छरपस्टै बुझिराखेका छन ।’

भारतले पटक पटक नेपाली भूमिमाथि आखाँ लगाउने काम गरेको उहाँले बताउनुभयो । भारत नेपालको असली छिमेकी राष्ट्र हो भने छिमेकीकै हैसियतमा बस्न सांसद चौधरीले चेतावनी दिनुभयो ।

पटक पटक नेपालमाथि भारतीय ज्यादथी बढेको भन्दै उहाँले अब भारतमा जान र उताबाट आउन पार्सपोर्ट सिष्टम लागू गर्नुपर्ने धारणा राख्नुभयो । ‘ यो गर्दा केहि समय अप्ठ्यारो होला तर, अनिवार्य भएको छ, उहाँले थप्नुभयो, ‘खुल्ला सीमानाका कारण नेपाली दाजुभाईले पिटाई खाएका छन, चेलीबेटी असुरक्षित छन ।’

नेपालको नयाँ नक्सा जारी भएसंगै खुसी हुने बेला रुने र कराउने काम भएको भन्दै उहाँले यसरी सुनाउनुभयो ।

‘हाम्रो चलनचल्तीको भाषा छ । म कैलालीकी चेली हुँ, बिहे गरी दाङ आए भने कैलानीयाँ भन्छन, दाङकी चेली कैलाली गइन भने देउखुनियाँ भन्छन, अछामबाट विहेगरी आइनभने अछामी चेली हो भन्छन, डोटीबाट विहे गरी आए भने डोटेली चेली हो भन्छन । फ्रान्सबाट आएको चेलीलाई फ्रान्सेली चेली भन्छन, अमेरिकाबाट आएको चेलीलाई अमेरिकन चेली भन्छन, भारतबाट विहे गरी आएको चेलीलाई के भन्ने ? उहाँले भन्नुभयो, उनको (सरिता गिरी) माइती देश विदेश हो । भारत हो भने भारतीय चेली होइन उ ! भारतीय चेली भन्दैमा किन मुटु दुख्नु पर्ने ? नेपालबाट विहे गरेर भारत गएको भए नेपाली चेली भन्दैनथे त्यहाँ !’

संसदमा दिएको मन्तव्यको आशय पनि उहाँले प्रष्ट पार्दै भन्नुभयो । ‘संसदको लोगो चेञ्ज गर्ने र कानुनी रुपमै नक्सा जारी गर्ने विषयमा संविधान संशोधन गर्ने विषय टेवल भएपछि उनीहरुको (सरिता गिरी लगायत) राष्ट्रप्रति माया र भक्ति देखिएन । झुकाव कता देखियो ? आफ्नै माइती तर्फ । म पटक पटक भन्दै आएकी छु, फेरि पनि भन्छुः हाम्रो थारु भाषामा एउटा भनाई छ, माइतीको कुकुर पनि प्यारो ! कतिसम्म माइती गाउँमा माया प्रेम, स्नेह हुन्छ भने, दुई शब्द उसको माइतीको विरुद्धमा घरपरिवारले भन्दियो भने त्यो हड्डीमा लाग्ने चोट जस्तै दुख्ने रैछ । त्यस्तै उहाँलाई आभाष भएको हुनुपर्न भन्ने लाग्छ । तर, उहाँले त्यो झुकाव नदेखिनु पथ्र्यो । के हाम्रो यो भूमि उहाँले ल्याएको दाइजो त होइन नी । हाम्रो पूर्खाले अर्जेको विर्ता हो । हाम्रो पूर्खाले संघर्ष गरेको विर्ता हो । उहाँले माइती देशबाट ल्याए जस्तो नक्सा जारी गर्दा सोध्नु पर्ने ? त्यो उहाँको गलत अभियक्ती थियो । मैले कुनै व्यक्तिको विरोध गरेकी होइन । मैले प्रवृत्तीको विरोध गरेकी हुँ । अर्को कुरा, उहाँलाई राष्ट्रिय भाषा स्पष्ट नेपाली बोल्न आउँछ । उहाँ राम्रो पढे लेखेको, मैले उहाँलाई सम्मान गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । तर, उहाँले जुन आफ्नै राष्ट्रभित्र नेपाली हुँ भन्नुहुन्छ, तर त्यही नेपालको विरुद्धमा लाग्ने अभिव्यक्ति दिएपछि अनि कस्को मन नरोला ? तपाई आफै भन्नुस न !

बाँकी अन्तर्वार्ता सुन्नुहोस ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ९ : ३२ बजे