१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुका नयाँ एसपी अधिकारीको एक्सनः वडाध्यक्षका छोरासहित २ जना पक्राऊ



मायादेवी अनलाइन, चार नम्बर ।

कुटपिटमा संलग्न भएका भनिएका कपिलवस्तु नगरपालिकाका एक वडाध्यक्षका छोरासहित अर्का एक जना पक्राउ परेका छन् । टेम्पोमा घर गईरहेका २ जनालाई बाटामा साङ्घातिक आक्रमण गरि घाइते बनाएको आरोपमा नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष रुद्र बहादुर गैरेको छोरा धिरज गैरे र उनका साथी अनिल धवतलाई जिल्ला प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको हो । सिकोटवादेखि पक्राउ गरि अनुसन्धान प्रकृया सुरु गरिएको प्रहरी नायब उपारिक्षक सुनिल मल्लले मायादेवी अनलाइलाई जानकारी दिनुभयो ।

उनीहरुको कुटाइबाट बुद्धभूमि नगरपालिका वडा नं. ६ साविक महुवा गाविस लक्षमणपुरका एकै घर दुई भाइ ३६ बर्षीय राम प्रसाद यादव ३२ बर्षीय बुधई अहिर विहीबार घाइते छन् । अहिले उनीहरुकोे भैरहवामा उपचार भइरहेको डिएसपी मल्लले बताउनु भयो ।

कुटपीटपछि घाईते भएकामध्ये ३६ बर्षीय राम प्रसाद यादवको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा १४ वटा टाँका लागिरहेको अवस्थामा थप उपचारको लागि भैरहवा पठाइएको मल्लले बताउनु भयो । मल्लका अनुसार राम प्रसाद यादवको टाउकोमा ठुलो चोट लागेको छ । दुवै जना गम्भिर घाइते भएको भनिए पनि मल्लले सामान्य अवस्थामा उपचार भइरहेको जानकारी दिनुभयो ।

यस विषयमा थप बुझ्दा नव नियुक्त जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले बदमास गर्ने कसैलाई नछाड्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘म जनउत्तरदायी भएर काम गर्छु । बदमास गर्नेहरु त्यसै उम्कन पाउँदैनन् । कन्ट्रोल कति हुन्छ, हुँदैन भन्न सक्दिनँ तर कसैसंग मिल्दिनँ ।’ एसपी अधिकारीले वडाध्यक्षका छोरा पक्राऊका सम्बन्धमा को के भन्ने थाहा नभएको बताउनु भयो ।

उनीहरुले गल्ती गरेकाले पक्राऊ गरिएको हो उहाँले भन्नुभयो । उहाँले गल्ती र अनियमितता गर्ने ठुला-ठालु, दलबल, जसका जो भए पनि त्यसै उम्कन नपाउने बताउँदै भनसुनमा छाड्ने काम नहुने बताउनु भयो । उहाँले कुनै पनि किसिमको अपराध गर्नेसंग आफ्नो प्रहरी सेवाको जीवनभरी नमिल्ने बताउनु भयो ।

साथै उहाँले जिल्ला कमाण्ड सम्हालेको पहिलो दिनमै शुक्रबार नै भारतबाट भन्सार छली ल्याउँदै गरेको कपडा पनि बरामद गर्न सफल हुनुभएको छ । यस्तै नेपालबाट लुकीछिपी भारत लैजाँदै गरेको छोकडा पनि नियन्त्रणमा लिइ भन्सार चलान गरेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

साङ्घातिक आक्रमण गरि गम्भीर बनाउनै दुवै जनालाई कडा कानुनी कारवाही गर्नु पर्ने स्थानीयहरु माग गरेका छन् । कतिपयले वडाअध्यक्षका छोरा उम्कने हुन् कि भन्ने आसंका राखेका बेला गैरेलाई पक्राऊ गरेपछि नयाँ प्रहरी कमाण्डमाथि केही आशा राखेका छन् ।

एसपी दीप शमशेर जबराको सरुवा पछि अधिकारीले शुक्रबारबाट जिल्ला प्रहरीको नेतृत्व सम्हाल्नु भएको छ । उहाँले जिल्लाका सुरक्षाकर्मीको मनोबल उच्च पारी काम गर्ने बताउनु भयो ।

जिल्लामा तस्करी, घुसपैठ र अपराधका घटनाहरु बढी हुने जानकारी पाएको भन्दै यसमा विशेष निगरानी रहने भन्दै जिल्लाबासीलाई आश्वस्त पार्नुभयो । उहाँले काठमाण्डौँमा राम्रो काम गरेबापत् २ पटकसम्म उत्कृष्ट प्रहरी सेवा पुरस्कार पाइसक्नु भएको छ ।

यो पनि पढ्नुहोस कपिलवस्तुका नयाँ एसपी अधिकारी, २ पटक ‘प्रहरी सेवा उत्कृष्ट पुरस्कार’ पाएको छवि

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ८ : २६ बजे