रेडियो   टिभी

वाणगंगाका करिब २९ हजार विद्यार्थीलाई रेडियोबाट पठनपाठन


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले रेडियोबाट पठनपाठनको शुभारम्भ गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनले गर्दा नगरभित्र रहेका रेडियो मायादेवीसहितका चार रेडियोबाट वाणगंगाले पठनपाठनको शुभारम्भ गरेको हो ।

आइतबार विहान ११ बजेदेखि नगरका सबै रेडियोबाट पठनपाठनको शुभारम्भ भएको छ । रेडियोबाट विद्यालय कक्षा शुभारम्भ पूर्व नगरपालिकामा यो अभियानबारे औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराई, शाखा अधिकृत खिमबहादुर जिसी, स्रोत व्यक्ति कविराज भण्डारी, राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी, नेपाल शिक्षक महासंघका वाणगंगा नगर अध्यक्ष अर्जुन शाही, वाणगंगा माविका प्राचार्य रामप्रसाद भण्डारी लगायतको उपस्थितीमा रेडियो कक्षाबारे जानकारी दिइएको थियो ।

बैकल्पिक शिक्षण सिकाईको शुभारम्भ गर्दै नगर प्रमुख थारुले सबै मिलेर अहिलेको विषमपरिस्थितीमा बालबच्चाको शिक्षण सिकाईमा जोड दिनुपर्ने बताउनुभयो । कोरोना भाइरसको कारण विद्यार्थी स्कूल जान नपाएको बेला रेडियोबाट शिक्षण सिकाई गरी बालबच्चाको अध्ययनमा टेवा पुगोस भनेर रेडियोबाट पठनपाठन सुरु गरिएको उहाँले बताउनुभयो ।

नगर उप-प्रमुख अर्यालले घरमा रहेका विद्यार्थीलाई पढाई प्रति जागरण पैदा गर्नका लागि रेडियोबाट कक्षा सञ्चालन गरिएको बताउनुभयो । रेडियो कक्षाले शिक्षण सिकाईमा सकारात्मक प्रभाव पार्ने भन्दै यसको प्रभावकारीता नै त्यसैलाई लिनुपर्ने बताउनुभयो । कतिपयले रेडियोबाट सिकाएर के हुन्छ र ? भन्ने गरेको आफुले सुनेको भन्दै यो नयाँ प्रविधिको सिकाई भएकाले अहिलेनै प्रभावकारीता खोज्ने बेला नभएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले रेडियोबाट सञ्चालन गरिएको कक्षालाई प्रभावकारी बनाउने महत्वपूर्ण भूमिका शिक्षकको रहेको बताउनुभयो । शिक्षकले रेडियोबाट दिने कक्षागत विषयवस्तु कुरा राम्रो हुनुपर्ने र प्रशारणमा गुणस्तरीयता कायम गरे विद्यार्थीमा सकारात्मक छाप अवश्य पर्ने बताउनुभयो । कपिलवस्तुमा आफुहरुले पहिलो पटक रेडियोबाट कक्षा सुरु गर्नु नै ठूलो कुरा भएको उहाँले बताउनुभयो । विद्यार्थीका लागि नगरपालिका, शिक्षक र रेडियोकर्मीले महत्वपूर्ण कार्यको थालनी गरेको भन्दै सम्पूर्ण विद्यार्थीलाई यसको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो ।

शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले सिकाईको थलो घरमा बनाउन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभएको छ । नगरभित्र झण्डै २९ हजार विद्यार्थी रहेको भन्दै कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई केन्द्रित गरेर रेडियोबाट कक्षा सञ्चालन थालिएको बताउनुभयो । कक्षा १ र ३ सम्म अब कसरी विद्यार्थीलाई पढाउने भन्नेबारे नगरपालिकामा छलफल भैरहेको भन्दै उहाँले अहिलेको बैकल्पिक सिकाईलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले कोरोना भाइरसले शैक्षिक क्षयीकरण भएको भन्दै यसको न्यूनिकरणमा नगरपालिकाले महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद दिनुभयो । अहिलेको अवस्थामा रेडियो नै शिक्षण सिकाईको महत्वपूर्ण साधन बनेको भन्दै सबै विद्यार्थीले रेडियोबाट आ-आफ्नो कक्षा लिनका लागि आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

वाणगंगामा रेडियोबाट विद्यालय कक्षा, कक्षा ४ र ७ का विद्यार्थीले रेडियो मायादेवी सुन्नुपर्ने

प्रतिक्रिया दिनुहोस