१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे !



दीपा महत, चार नम्बर ।
कोरोना संक्रमणको हिसाबले कुनैबेला मूलुककै अग्रपंक्तिमा रहेको कपिलवस्तुमा पछिल्लो समय संक्रमितको संख्यामा गिरावट आएको थियो । खुल्ला सीमा नाकाका कारण भारतबाट आउनेको संख्या एकाएक बढेपछि जिल्लामा जेष्ठ पहिलो हप्तासम्म क्वारेनटाइनमा बस्ने १५ हजारको हारहारीमा थिए । जसमध्ये सात सय बढीलाई संक्रमण पुष्टि भएको थियो ।

असार दोस्रो हप्ता देखि जिल्लामा पीसीआर परिक्षण सुस्त गतिमा रहेको थियो भने क्वारेनटाइन पनि रित्ता थिए । तर, मंगलबार एकैपटक जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको छ । यी संक्रमित सबै शिवराज नगरपालिकाका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले आफ्नो आधिकारीक फेसबुक पेजमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ जना संक्रमित मध्ये १३ जना समुदायस्तरका रहेका छन् ।

यस्तै १२ जना भारतबाट आएका छन् भने अरु तेस्रो मूलक दुवई, कतार र साउदी अरेवियाका हुन् । सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नागरिकलाई नेपाल फर्काएसंगै शिवराज नगरपालिकामा घर हुनेहरु आइरहेका छन् । जसमध्ये संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो ।

शिवराजका १३ जना समुदायस्तरमा कसरी देखियो कोरोना ?

नगरपालिकाको वडा नं. १ का हालै भारतबाट एक व्यक्ति आएका थिए । उनलाई होम क्वारेनटाइनमा बस्न भनिएको थियो । तर, ती व्यक्ति होम क्वारेनटाइनमा नबसेर गाउँ-गाउँ चाहर्ने, बजारमा किनमेलका लागि निस्कने गरेका थिए । कोरोना भाइरसको कुनै लक्षण नदेखिएका कारण उनी आफुलाई कोभिड-१९ छैन् भन्ने भ्रम थियो ।

पछि शिवराज नगरपालिकाले उनलाई पीसीआर परिक्षण गराए लगत्तै उनमा कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना संक्रमण देखिएपछि शिवराजमा हंगामा मच्चिएको थियो । सोही अनुसार नगरपालिकाले पीसीआर जाँचलाई तीव्रता दिएको थियो ।

पछिल्लो समय ८८ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको मध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । आफु अहिले काम विशेष ले कार्यालय बाहिर रहेको भन्दै पौडेलले ३४ जना संक्रमित मध्ये १३ जना समुदायस्तरका रहेको पुष्टि गर्नुभयो ।

‘पछिल्लो समय नगरबाट झण्डै ८८ जनाको पीसीआर जाँच गरेर काठमाडौं पठाएका थियौं, जसमध्ये ३४ जनामा पोजेटिभ रिपोर्ट आएको छ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले मायादेवीसंग भन्नुभयो,– “१३ जना समुदायस्तरका हुन् भन्ने खबर आएको छ, को को हुन् ? स्वास्थ्यका साथीहरुले डाटा संकलन गर्दैैहुनुहुन्छ ।”

नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीका अनुसार कोरोना संक्रमणको शंका लागेकाहरुलाई नगरपालिकाले पीसीआर जाँच गरेको बताउनुभयो । नगरका केहि कर्मचारी, शिक्षक, जनप्रतिनिधि, सर्वसाधारण लगायतको पीसीआर जाँच गर्दा १३ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

‘समुदायसंग घुममिल भएर काम गरेका साथीहरुले पीसीआर जाँच गर्न आग्रह गर्नुभएको थियो, सोही अनुसार कार्यालयले पीसीआर गरेर काठमाडौं पठाएका थियौं, नगर प्रमुख अधिकारीले मायादेवीसंग भन्नुभयो, “कोरोना पोजेटिभ देखिएका वडासचिव देखि शिक्षकसम्म हुनुहुन्छ ।”

प्राय विदेशबाट फर्किएकाहरुमा कोरोना देखिने गरेपनि अहिले नेपालमै रहेकालाई कोरोना देखिदा त्रास छाएको उहाँले बताउनुभयो । तर, आत्तिनुपर्ने स्थिति नभएको र स्वास्थ्य मापदण्ड अपाउनुपर्ने आवश्यकता रहेको उहाँले सुनाउनुभयो ।

‘आज संक्रमण पुष्टि भएका मध्ये १३ जना साथीहरु विदेशबाट आउनुभएको होइन् । तर, उहाँहरु जनता र समुदायको कामका खटिनुभएको थियो, उहाँले थप्नुभयो, ‘हिजो पनि सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई कोरोना देखिएकै हो नि ! बढी त्रसित बन्नुपर्ने स्थिति छैन् । संक्रमित सबैको स्वास्थ्यस्थिती सामान्य छ ।’

मंगलबार थपिएका सबै संक्रमितलाई होम क्वारेनटाइन देखि नगरले निर्माण गरेको क्वारेनटाइन राख्ने तयारीमा शिवराज नगरपालिका रहेको छ । घरमा छुट्टै कोठा, छुट्टै शौचालय, छुट्टै धारा भएकाहरुलाई होम क्वारेनटाइनमा राख्ने र यी सुविधा नभएकाहरुलाई नगरले निर्माण गरेको क्वारेनटाइनमा राख्ने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् कपिलवस्तुमा १ महिनापछि ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संख्या ८ सय नजिक

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  १२ : २५ बजे