८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चार महिनासम्म बन्द चितवन सौराहाका होटल आजबाट खुले



चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् ।सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्कोतिर लामो दुरीका सवारीसाधन अझै खुलेका छैनन्, विमान चलेको छैन,’ उनले भने, ‘तर पनि हामी सौराहा खोल्छौं, जो जति पर्यटक आउनुहुन्छ उहाँहरुलाई सावधानी अपनाएर ससम्मान सेवा दिन्छौं ।’

सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भैरहेको बताए ।

आन्तरिक पर्यटक भित्राउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन गत शनिबार व्यवसायीहरुले साइकल ¥याली निकालेका थिए ।सौराहामा ११० होटल सञ्चालनमा छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ८ : ३५ बजे