१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विहान ५ बजेदेखि कपिलवस्तुमा यसरी गरियो कडाई !



मायादेवी अनलाइन, जीतपुर ।
कपिलवस्तुमा शुक्रबार विहानैबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबारबाट १० दिनसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रशासन कार्यालयले विहीबार एक सुचना जारी गर्दै शुक्रबार (यही साउन २३ गते बिहान ५ बजे) बाट लागु हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कपिलवस्तुमा समुदाय स्तरमा नै देखिएकाले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । शुक्रबार बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको भन्दै प्रशासनको सुचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यालय कपिलवस्तुले चेतावनी दिएको छ ।

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जो गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन गर्न सकिने छ । यद्यपि पसल, व्यवसाय भने स्वास्थ्य सम्बन्धि मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस् कपिलवस्तुमा अहिलेलाई बजार बन्द छैन्, दुई तीन दिनमा के हुन्छ भन्न सकिन्नः सिडिओ

वाणगंगामा आज १ सय जनाको कोरोना परिक्षण हुँदै

कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रबार (आज) समुदायका १ सय जनाको कोरोना परिक्षण हुँदै छ ।

जिल्लामा पछिल्लो समय समुदायस्तरका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएसंगै वाणगंगामा पनि परिक्षण दर बढाउन थालिएको हो । यसभन्दा अगाडी नगरमा क्वारेनटाइन भित्र रहेका व्यक्तिको मात्र पीसीआर परिक्षण हुँदै आएको थियो ।

विहीबार साँझ नगरको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसी समुदायस्तरमा हुन थालेको पीसीआर जाँचको बारेमा प्रष्ट पार्ने काम गरिएको थियो ।

बैठकमा नगर प्रमुख मंगलप्रसाद थारुले शुक्रबार १ सय जनाको नमुना परिक्षण हुन लागेको जानकारी दिनुभयो । विशेष गरी सामाजिक कार्य गर्ने व्यक्तिलाई लक्षित गरी परिक्षण हुन लागेको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

नगर उप प्रमुख चक्रपाणी अर्यालले सिद्धार्थ क्याम्पसमा नमुना परिक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

नगरभित्रका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सामाजिक कार्यमा खटिएका व्यक्ति, केही स्थानीय नेताहरुको नमुना परिक्षणको तयारी भएको भन्दै नगर उप प्रमुख अर्यालले अनिवार्य यी क्षेत्रका व्यक्तिहरुलाई परिक्षणका लागि आउन आग्रह गर्नुभएको छ ।

मास्क प्रयोग नगर्नेलाई ठाउँको ठाउँ कारबाही हुने

समुदायस्तरमा कोरोना फैलन थालेपछि कपिलवस्तुको बाणगंगा नगरपालिकाले मास्क प्रयोगमा कडाइ गर्ने भएको छ ।

मास्क प्रयोगलाई दैनिक अत्यावश्यकीय वस्तुको रुपमा बुझ्न आग्रह गर्दै नगरपालिकाले मास्क प्रयोग नगरी हिँड्ने जो कोहीलाई पनि कारबाही गर्न नगरस्थित सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

नगरको विपद् व्यवस्थापन समितिको बैठक बसी इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल पिपरालाई यसबारे चनाखो बन्न आग्रह गरेको छ ।

वैठकको अध्यक्षता ग्रहण गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले मास्क प्रयोगमा आलटाल भइरहेकोले नगरको निर्णयमा लापरबाही गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “यसबारे सरकारले नै निर्णय गरेको भए पनि सर्वसाधारणले पालना नगरेको पाइएपछि समुदायस्तरमा कोरोनाको संक्रमण नफैलियोस् भन्नको लागि नगरले यो निर्देशन दिनु परेको हो ।”

वैठकपछि इन्सपेक्टरद्धय आयूष प्रसाद जोशी र अर्जुन ढकालले मास्क प्रयोग नगर्नेमाथि प्रहरीले कडाई गर्ने बताउनु भयो । इलाका मातहतका सबै इकाइलाई निर्णय कार्यान्वयन गराउन निर्देशन दिइसकेको भन्दै लापरबाही नगर्न उहाँहरुले आग्रह गर्नुभयो ।

मास्क प्रयोग गर्न आलटाल गर्नेलाई सम्झाइबुझाइदेखि नियन्त्रणसम्मको कारबाही गरिने प्रहरीले जनाएको छ । यस्तै प्रहरीले आवश्यकभन्दा अन्य कामको लागि हिँँडडुल गर्नेमाथि पनि कडाई गरिने जनाइएको छ ।

देशभर समुदायस्तरमा कोरोना फैलिरहेको अवस्थामा बाणगंगामा पनि यो अवस्था आउनबाट थप बचाउन नगरले जिल्ला प्रशासन कार्यालयले गरेका निर्णयहरु कडाईका साथ पालना गर्ने, समुदायस्तरमा पिसिआर जाँचका दायरा बढाउने लगायतका निर्णय भएका छन् ।

बैठकमा उपमेयर चक्र अर्याल, वडाध्यक्षहरु, उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतका सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ६ : ११ बजे