१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोकिएको परीक्षा छठपछि गर्ने त्रिवीको तयारी



काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोनाका कारण त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर हुन सकेन । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।

फारम भरिसकेकाको परीक्षा पहिले हुने

छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो । आवश्यक सुरक्षा सावधानी अपनाएर परीक्षा लिने तयारी भएको उहाँको भनाइ छ । उहाँले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्छ

बजारमा चहलपहल बढे पनि कोरोनाको जोखिम कम हुन सकेको छैन । दशैँ तिहार जस्ता चाडपर्व नजिकिएको बेला झनै मानिसको जमघट धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्छ । अथवा अवस्था जटिल हुन पनि सक्छ ।

अवस्था एकदमै जटिल भयो भने परीक्षा गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

‘रोकिएका परीक्षा सञ्चालन हुनु राम्रो, तर परीक्षा लिने तरिका गलत’

रोकिएका परीक्षा छठपछि सञ्चालनको तयारी हुनु सकारात्मक भएको शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय परम्परागत सोचभन्दा बाहिर जान नसकेकाले समस्या भएको उहाँको भनाइ छ । डाक्टर कोइरालाका अनुसार अहिलेको परिस्थिति अनुसारकै प्रश्नपत्र बनाएर परीक्षा लिनुपर्थ्यो ।

उदाहरणका लागि अनलाइनबाट कक्षा लिएकाहरुलाई त्यही खालका प्रश्न, अफलाइनमा बसेर पढेकालाई त्यही खालको प्रश्न सोध्न सकिन्थ्यो । अर्को उपाय भनेको एउटै विषयको प्रश्न सोध्ने तर केही दिनको समय दिने, अनि विद्यार्थीलाई उत्तर जसरी खोजे पनि हुन्छ भनेर खोज्न लगाउने, पढ्न लगाउने र विश्लेषण गरेर लेख्न लगाएर पनि मूल्याङकन गर्न सकिने उहाँले बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगको निर्देशिकामा विश्वविद्यालयले कोरोनाका कारण सिर्जना भएको परिस्थितिलाई सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने भन्ने उल्लेख छ ।

यस्तै सुरक्षा मापदण्ड अनुसरण गरी भौतिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्ने भनिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ८ : ०९ बजे