दर्ता दस्तुरमा छुटको प्रभावः बाँकेमा एक महिनामै तीन सय ५९ उद्योग दर्ता


बाँके ।
लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३ सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए।

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १ सय ३४ उद्योग दर्ता भएका थिए । भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३ सय ५९ उद्योग दर्ता भएका हुन्।

प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो।

‘पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै दर्ता हुने व्यवस्था भएको छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ,’ प्रमुख उद्योग अधिकृत थारूले भने, ‘उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन्।’

२० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको पाँच हजार, २० लाखदेखि ५० लाखसम्मको १५ हजार र ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि २५ हजार दर्ता दस्तुर तोकिएको छ।

प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूले जानकारी दिए। रासस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस