७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने



काठमाडौं ।

साझा पार्टीले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा विपन्नलाई खाना खुवाउन रोक लगाउन दिएको निर्देशनको विरोध गरेको छ । महानगरपालिकाको उक्त निर्णयको विरुद्धमा साझा पार्टीले खुलामञ्चमा नै बुधबार विहान र बेलुका खाना खुवाउन आफूले खर्च व्यहोर्ने पनि घोषणा गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने बताएका हुन् । ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’ साझा पार्टीले चुनौती दिएको छ ।

साझा पार्टीले महानगरपालिकालाई आफ्नो निर्णय सच्याउन पनि आग्रह गरेको छ । ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’ पाठकले विज्ञप्तिमा भनेका छन् ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सिर्जना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले बताएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७ मंगलबार ००:००  ३ : ३७ बजे