७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता



काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेटवार्ता गरेका छन्। तीन दिने औपचारिक भ्रमणमा आएका नरवणेले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। नेपालसँगको सम्बन्ध सुधारका लागि भारतले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ। सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो।

भेटमा दुई देशको सैन्य सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओली रक्षामन्त्री पनि हुन्। उनले रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर आफै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो। उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए। दुई देशका सेनाप्रमुखहरूबीच जंगीअड्डामा औपचारिक भेटवार्ता भएको थियो। नरवणे आजै स्वदेश फर्किनेछन्।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  २ : ०० बजे