७ असार २०८३, आइतबार | Mon Jun 22 2026

विप्लव अर्थ विभाग प्रमुखसहित दुईजना पक्राउ



काठमाडौं ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल विकल्प सहित दुई नेता पक्राउ परेका छन्।

प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली सुवर्णलाई पक्राउ गरेको हो। नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पुष्टि गरेका छन्। उनले विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन्।

विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन्। उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ७ : ५९ बजे