१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

सुरु भयो नेकपाको सचिवालय बैठक, चौतर्फी चासो



काठमाडौं ।

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को आरोप प्रत्यारोपपछि सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा पछिल्लो समय विवादमा फसेको छ। अध्यक्षद्धयको विवादले पार्टी विभाजनको दिशातर्फ केन्द्रीत भएको छ।
विवादको क्रममा सचिवालयमा प्रधानमन्त्री ओली ओली अल्पमतमा देखिएका छन्। अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।

यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल छन्। यद्यपी, अध्यक्ष दाहाल निकट रहेको गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन्। तर, उनी अहिलेसम्म कतै पनि खुलेका छैनन्।

ओलीको जवाफ

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोप पत्र अस्वीकार गरी आफ्ना जवाफ दिने तयारी गरिरहेका छन्। प्रधानमन्त्री ओलीले आफूमाथि लगाएका आरोपबारे बैठकमा स्पष्ट पार्ने तयारी गरिरहेका छन्।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवाद उत्कर्षमा पुगेको भएपनि दुवै पक्षले आआफ्नै अडान राखिरहेका छन्। अध्यक्ष दाहालसहितका बहुमतका सदस्यले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र, ओलीको जवाफी पत्र, फेरि दाहालले लेखेको प्रत्युत्तर पत्र र प्रस्ताव सबै समेटेर तल्लो तहसम्म अध्ययनका लागि पठाइसकेका छन्।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  २ : ०३ बजे