५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सहकारी बैंकले ७.५ प्रतिशत ब्याजमा कर्जा दिने



काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७.५ प्रशित कायम गरेको छ । सो कर्जा पुस १० गतेदेखि लागू हुने बैंकले जनाएको छ।

गत भदौदेखि नै बैंकले आफ्नो कर्जाको ब्याजदर एक अंकमा झारेको थियो । बैंकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै व्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको थियो ।

बैंकले कर्जाको न्यूनतम ब्याजदर तोकेसँगै ४ प्रकारका लोनको प्रडक्ट पनि तयार पारेको छ । सबल सहकारी कर्जा, गरिबी निवारण कर्जा, अल्पकालिन व्यावसायिक कर्जा र व्यावसायिक किस्ताबन्दी कर्जामा बैंकले न्यूनतम ७.५ प्रतिशतदेखि ९.५ प्रतिशतसम्म ब्याज लिने जनाएको छ। बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन ।

बैंकले सेवा शुल्क पनि घटाएर ०.५ प्रतिशत कायम गरेको छ । सहकारी क्षेत्रको कुनै पनि संघसंस्थाले ब्याजका कारण कर्जाको लागि अन्य निकायमा जानुपर्ने अवस्था हटाउने र संरक्षित पुँजी फिर्ता कोषको फाइदा र महत्व अनुभूति गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाखभन्दा बढी रकम भुक्तानी गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  १ : २० बजे