१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

ओलीले चुनाव जित्दैन भन्नुहुन्छ, ‘डण्डा’ हान्न पायो भने जित्ला नि त ! नेता रिजाल



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन पनि धेरै समय नटिक्ने बताउनु भएको छ ।

काँग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विहीबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा आउनु भएका नेता रिजालले ओली शासनको आयु पनि लामो समयको नभएको जिकिर गर्नुभएको हो ।

कार्यकर्तालाई प्रशिक्षण दिएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा रिजालले भन्नुभयो ‘ज्ञानेन्द्रले त सत्ता टिकाउन सकेन । ओलीले अब कसरी सक्छ ? बताउनुहोस्, ओलीले कसरी सक्छ ? यस्तो भ्रम लिएर नहिँडौँ । सुन्दा मजा आउन सक्ला ओलीले चुनाव जित्छ होला, सत्ता टिकाउँछ होला । तर त्यो सम्भव छैन ।’

हिजो सबै शक्तिले ज्ञानेन्द्रलाई शासन दिएको हो । सबैले महाराजकी जय पनि भनेको हो । अढाइ सय बर्षे राजाको शासन पनि त आखिर टिक्न सकेन । आफैले संसद विघटन गर्यो, यो अब कसरी टिक्छ ? काँग्रेसका प्रभावशाली नेता समेत रहनु भएका उहाँले भन्नु भयो ।

नेता रिजालले ओलीले चुनाव जिते धाँधली गरेर, बल प्रयोग गरेर जित्ने समेत बताउनु भयो । कम्युनिष्ट आफ्नै कारण विभाजन भएका छन् । यो निश्चत छ, एउटा पार्टी निकै ठुलो र अर्को निकै कमजोर हुने छ, उहाँले भन्नुभयो ।

प्रशिक्षणमा कार्यकर्ताले ओलीले अब चुनाव हार्छन् काँग्रेस कसरी अगाडी बढ्छ भन्दै प्रश्न राखेका थिए । यसको जवाफमा रिजालले भन्नुभयो ‘ओलीले चुनाव जित्दैन भन्नुहुन्छ यस्तै गरी डण्डा हान्न पायो भने त जित्ला नि त !’

उहाँले अब हिजोका कमिकमजोरी सुधार गरेर काँग्रेस अगाडी बढ्नु पर्ने बताउनु भयो । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै उहाँले काँग्रेसले निरन्तर आन्दोलन गर्ने चेतावनी दिनुभयो । विघटित संसद पुर्नस्थापन हुनेमा विश्वास ब्यक्त गर्दै रिजालले सर्बोच्च अदालतले सही निर्णय गर्नेमा आफू विश्वस्त भएको समेत बताउनु भयो ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ३ : १४ बजे