२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कांग्रेस सरकारमा गए धर्मको विषयमा जनमत सङ्ग्रह गराउँछ : महामन्त्री कोइराला



दाङ ।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदो वैशाखमा चुनाव हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गर्नुभयो । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ ।

पार्टीलाई एकताबद्धसँगै आउँदो चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता कोइरालाले बताउनुभयो । ‘केपी ओली सरकारले वैशाखमा चुनाव गराउन सक्दैन, चुनाव मङ्सिर–पुस महिनातिर मात्र सम्भव छ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘त्यसैले कांग्रेस नहुने चुनावको पछि लाग्नु हुँदैन बरु पार्टीको महाधिवेशनमा ध्यान दिऔँ ।’ उहाँले जति सक्यो चाँडै पार्टीको क्रियाशील सदस्यता टुङ्गो लगाएर महाधिवेशनमा जुट्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा सहभागी हुने बताउनुभयो । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओलीले चुनाव गराउन चाहेकै छैनन्’, उहाँले भन्नुभयो, ‘अहिले चुनावको कुरा गरेर ओलीले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना हो ।’ उहाँले अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना भएको भन्दै अदालतको निर्णयलाई आफूहरूले स्वीकार गर्ने बताउनुभयो ।

धर्मको विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत सङ्ग्रह गराउनेसमेत बताउनुभयो । ‘धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गरिनु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौँ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७७ बुधबार ००:००  ६ : ०३ बजे