१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने



अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ ।

विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवाहरु तथा अन्य युवाहरुलाई व्यावसायिक कृषि पेशामा आबद्ध गराइ समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख कमलप्रसाद भुसालले बताउनु भयो ।

व्यावसायिक कृषि गर्नेहरुलाई सुलभ कृषि कर्जा प्रदान गर्न सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज (बुधबार) हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गर्नु भएको हो ।

कृषि पेशा गर्नेहरुलाई बिना धितो कर्जा प्रवाह गरिने जसमा कुनै प्रक्रिया शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताउनुभयो ।

सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले अन्य सेवाहरु इन्टरनेट बैंकिंग, एटीएम सेवा, इबीबीएस लगायतका सेवाहरु समेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।

यसको लागि सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । कृषि पेशा गर्ने युवाहरुलाई एक लाख देखि ३ लाख रुपैयाँसम्म सुलभ कर्जा प्रदान गरिने नगर प्रमुख भुसालले बताउनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ६ : ०६ बजे