१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु अस्पतालले बार्षिक ४० हजार बढी विरामीलाई सेवा दिन्छ



मायादेवी अनलाइन, चारनम्बर ।
जिल्लास्थित बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा बार्षिक रुपमा ४० हजार विरामीले सेवा लिने गरेका छन् ।

अस्पतालले शनिबार गरेको तेश्रो बार्षिक साधारण सभाको अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव पोमनारायण पौडेलले सो तथ्याङ्कको जानकारी दिनु भएको हो । उत्तरमा अर्घाखाँची, पश्चिममा चन्द्रौटा, दक्षिणमा तौलिहवा र पूर्वमा रुपन्देहीको सालझण्डीदेखि विरामीहरु सेवा लिन आउने गरेको महासचिव पौडेलले बताउनु भयो ।

अहिले अस्पताल यस क्षेत्रकै आशा र भरोसाको अस्पताल बनेकाले भावी दिनमा पनि सेवा सुविधामा कमी नहुने उहाँको भनाई छ । साधारणतवरबाट सुरु भएको अस्पतालमा अहिले विशेषज्ञ सेवा पनि सुरु भएकाले अब अस्पताल प्रदेशकै नमुना बन्ने दिशामा रहेको प्रतिवेदनमार्फत पौडेलले जानकारी दिनुभभो ।

साधारण सभाका प्रमुख अतिथि पूर्वमन्त्री दीपकुमार उपाध्यायले अस्पतालले दिएको सेवाबाट जनताहरु सन्तुष्ट भएको आफूले पाएको बताउनु भयो । स्वास्थ्य मानव जीवनकै अभिन्न र संवेदनशिल कुरा रहेकोले यसमा कसैले पनि खेलवाड गर्न नहुने उहाँको भनाई छ । उहाँले अस्पताालाई अझै सुविधासम्पन्न बनाउन आफूले सहयोग गर्ने बताउनु भयो । राज्यले स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा ओली समूहका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, उपसभापति तारावती चौधरी, नगर उपप्रमुख चक्रपाणी अर्याल लगायतले बोल्दै अस्पतालले दिएको सेवाको प्रशंसा गर्नुभयो ।

उहाँहरुले अस्पताललाई अझै सर्वसाधारणको मन जित्ने गरी सेवा दिन पनि सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष रामजी सेनले समुदायका सबै वर्ग र तहका नागरिकको पहुँच पुग्ने गरी अस्पतालले सेवा दिएको बताउनु भयो । भावी दिनमा बुटवल र काठमाडौँ धाउन नपर्ने गरी सेवा, सुविधा र प्रविधिहरु थप गर्ने योजनामा आफूहरु रहेको भन्दै विश्वास गर्न सबैमा उहाँको आग्रह छ ।

सचिव चेतना अधिकारीको संचालन, वरिष्ठ उपाध्यक्ष हरि गैरेको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रवि बहादुर काफ्लेले आयब्यय प्रतिवेदन पढेर सुनाउनु भएको थियो । साधारण सभाको अवसरमा सहयोग गर्ने दर्जन बढी संघ संस्था तथा व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

अस्पतालले अहिले २४ सै घण्टा इमर्जेन्सी सेवा, प्रसुति सेवा, विशेषज्ञसहितको हाडजोर्नी तथा नशाा रोग सेवा संचाचलन गरिरहेको छ । यो जिल्लाकै पहिलो सामुदायिक अस्पताल समेत हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ७ : १२ बजे