८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चौलागाईँको निधनमा पार्टीको झण्डा आधा झुकाइने



काठमाडौं ।
नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ। उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए। चौलागाईँलाई भद्र, निष्ठावान् र इमान्दार नेताका रुपमा लिने गरिएको थियो।

चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ४ : ११ बजे