७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

माधव समूहबाट पटक पटक अवसर पाएका अहिले ओली गुट रोजेका यी नेता



काठमाडौँ ।
लामो समय नेकपा (एमाले) ओली विरुद्धको खेमामा लागेका कतिपय नेताले अहिले आएर भेष बदलेका छन् । एमालेका पूर्व अध्यक्षहरु झलनाथ खनाल र माधव कुमार नेपाल समूहमा रहेर विभिन्न लाभको पद धारण गरिसकेका नेताहरुले अन्तिम समयमा आएर ओली गुट रोजेका हुन् ।

पुस ५ मा संसद विघटन गरेर संविधान माथि नै धावा बोलेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र कमजोर हुन थालेपछि विभिन्न पदीय आश्वासन बाड्दै माधव–झलनाथ समूहमा रहेका नेतालाई आफ्नो कित्तामा ल्याउन सफल भएका छन् ।

पार्टीको विधान मिच्दै एकोहोरो गुट सञ्चालन गरिरहेका ओलीका कारण अहिले पार्टी गम्भीर संकटमा परेको छ । ९ औं महाधिवेशनबाट निर्वाचित माधव समूहका पदाधिकारी हटाउने देखि निर्वाचित जिल्ला अध्यक्षको पद खोसेर आफ्ना गुटमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिएका ओलीकै कारण एमाले विघटन हुन थालेको टिप्पणी हुने गरेको छ ।

पार्टी भित्र विधिको माग गर्दै आएका नेपाल समूहमा कुनै राजनीतिक दाग नलागेका प्रभावशाली नेताहरु छन् । तर यी नेताहरुलाई पटक पटक आफ्नो कित्तामा ल्याउन नसके पछि कतिपय ढुलमुले चरित्रका नेतालाई ओलीले आफू तिर तानिसकेका छन् ।

९ औं महाधिवेशनमा नेपाल समूहबाट उपाध्यक्ष हारेका लालबाबु पण्डितले अन्तिम समयमा ओली कित्ता रोजे । प्रधानमन्त्री ओलीकै मन्त्रिमण्डलमा रहेका उनलाई ओलीले असक्षम भन्दै राजीनामा दिन बाध्य पारेका थिए । पण्डितको काम प्रभावशाली नदेखिए पछि उनलाई हटाएर ओलीले हृदेश त्रिपाठीलाई मन्त्री बनाएका थिए ।

माधव समूहबाटै पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका सिन्धुपाल्चोकका शेरबहादुर तामाङले पनि ओली कित्ता रोजे । ओलीकै मन्त्रीमण्डलमा कानुनमन्त्री हुँदा महिला माथि विवादाष्पद अभिव्यक्ति दिएका उनलाई मन्त्रीबाट बर्खास्त गरिएको थियो । उनले आशुँ झार्दै मन्त्री पद त्यागेका थिए । साथै उनकी श्रीमती समेत रहेकी खोटङकी उषाकला राईलाई प्रदेश नं. १ को मन्त्री बनाउने आश्वासन दिए पछि उनले माधव समूह छाडेका हुन् ।

माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको नियुक्ती खाएका विष्णु रिजालले पनि अन्तिम समयमा धोका दिए । माधव समूहकै कोटाबाट पार्टीको केन्द्रिय सदस्यमा मनोनित भएका उनी लेखन कार्यमा अब्बल भएपनि पार्टीको भूगोलमा खासै परिचित छैनन् ।

पछिल्लो समय सांसदहरू हिरा केसी, ध्रुव शाही, राजबहादुर बुढा लगायतले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । उनीहरुले समूह छाड्ने चर्चा छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ८ : २७ बजे