१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ओलीसंगको बार्ताबारे भीम रावल भन्छन्ः आफूहरूको अडान यथावत् छ



काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीसँग आफूहरूको अडान यथावत् रहेको बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड– १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामी अहिले पनि कानुनी शासन मान्ने पद्धतिअनुरूप देश, विभिन्न संगठनहरू विशेषगरी राजनीतिक दलहरू चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशनबमोजिम केन्द्रीय कमिटी यथावत् रहनुपर्दछ र अमिल्दा कुराहरू रद्द भएर पार्टी स्वाभाविक रूपमा अघि जानुपर्छ भन्ने मान्यतामा कायमै छौँ । यस सन्दर्भमा हिजो जे–जति कुराहरू भए ती कुराहरूमा केही सकारात्मक कुराहरू अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ ।’

रावलले मुलुकको राजनीतिले दिशा परिवर्तन गरिनसकेको बताएका छन् । आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भए पनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मिहिनेत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ, तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरू जनताका समस्याहरू छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेकोसरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।’

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल–खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको संकट निवारण भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरूको अडान यथावत् रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ४ : १४ बजे