१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२२ दलद्धारा चुनाव खारेजीको माग



काठमाडौं ।
नेकपा माओवादी केन्द्रसहित साना २२ राजनीतिक दलले जनताले अहिले चुनाव नचाहेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । कोरोना महामारी बढेको भन्दै उनीहरूले अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको भनाइ छ ।

‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ,’ २२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले जारी गरेको अपीलमा भनिएको छ, ‘जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन ।’

उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेजसमेत माग गरेका छन्। विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दावी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।

‘हाम्रो देशमा संकट पैदा गराउन मलजल गरी यस्तो स्थितिबाट फाइदा उठाएर विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको सर्वत्र चर्चा भइरहेको छ,’ अपीलमा भनिएको छ, ‘यस्तो स्थितिमा नेपाल राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील शक्तिहरु र नेपाली जनतालाई एकजुट भएर परिस्थितिअनुसारका विरोधका कार्यक्रममा अघि बढ्न हामी आह्वान गर्दछौं ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ४ : २६ बजे