८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भीम रावल : ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ



काठमाडौ ।


नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्।

‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले भनेका छन्।

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन्।

उनले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन्। उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन्।

‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं।’, रावलले भनेका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  १२ : २२ बजे