१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बोको हरामका नेताको मृत्यु भएको विपक्षी उग्रवादी समूहको घोषणा



बीबीसी ।
नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमा बताएको छ ।

समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले जनाएको छ ।

सेकाउ अघिल्लो महिना पनि मारिएका विवरण आएका थिए । त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो । बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन् ।

अनुसन्धान गरिरहेको सेनाको भनाइ

मिति उल्लेख नगरिएको अडिओ रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल-बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन् ।

“भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन्,” एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा उल्लेख छ ।

अघिल्लो महिना भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने बताएको थियो ।

सेनाका प्रवक्ता ब्रिगेडियर जेनेरल मोहमद येरियाले बीबीसीसँग के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेपनि ठोस प्रमाण बिना वक्तव्य सार्वजनिक नगर्ने बताए ।

सुरक्षा निकायसँग निकट सम्बन्ध भएका एकजना पत्रकारले आइएसडब्लूएपीले उत्तर पूर्वी नाइजिरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडाहरूमा हमला गर्दा सेकाउ मारिएको बताए ।

बोको हरामसँगको संलग्नता

यसअघि पनि उनी मारिएको खबर आउने गर्थ्यो र कैयौँ पटक उनी पुनः देखा परेका थिए । सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व गरेका थिए ।

त्यसयता उत्तर पूर्वी नाइजिरियाको द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन् ।

पछिल्लो दशकमा उक्त क्षेत्रका अधिकांश हिस्सामा बोको हराम लडाकूहरू सक्रिय छन् । सन् २०१४ मा बोर्नो राज्यको एउटा विद्यालयबाट बोको हराम समूहले सयौँ छात्राहरूको अपहरण गरेको थियो त्यसमध्ये कैयौँ अझै बेपत्ता छन् ।

अर्को उत्तर पूर्वी राज्य योबेबाट विद्यार्थीहरूको त्यस्तै किसिमको अपहरण सन् २०१८ मा गरिएको थियो । आइएसडब्लूएपी बोको हरामबाट सन् २०१६ मा अलग भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ७ : ३१ बजे