१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सर्वोच्चको आदेशविरुद्ध ओली पक्ष भ्याकेटमा जाने, पार्टी एकतामा अझै शंका



काठमाडौं ।
फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन) मा जाने भएको छ ।

एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा फ्लोर क्रशको छूट हुँदैन । हिजोको आदेश दुर्भाग्यपूर्ण हो, यसका विरुद्ध हामी भ्याकेटमा जान्छौं,’ उनले भने ।

अन्तरिम आदेशमा चित्त नबुझे विपक्षीले भ्याकेट दर्ता गर्न सक्ने सर्वोच्च अदालतले बनाएको नियमावलीमा व्यवस्था छ ।

अधिवक्ता समेत रहेका विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले सर्वोच्चको अन्तरिम आदेश खारेजीका लागि निवेदन लिएर सर्वोच्च जान सकिने बताए ।

‘निर्वाचित सांसदलाई बोल्ने, गाली गर्ने छूट भएपनि फ्लोर क्रश गर्ने छुट हुँदैन, यो मान्यता स्थापित भयो भने दलीय व्यवस्था चल्न सक्दैन,’ पोखरेलले भने ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले आफ्ना सांसदलाई कारवाही गरेको थियो ।

एमालेले सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको महाधिवेशन आयोजक कमिटी भन्ने शब्द उल्लेख नभएको भनेर आदेश आएको भएपनि यसलाई सच्याउन अदालत जाने एमालेको तयारी छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ६ : १३ बजे