८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जसपा ठाकुर पक्षको बैठक बस्दै



काठमाडौं ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बैठक बोलाएको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू पक्षीय नेताहरुसँग छलफल गर्न लागेका हुन्।

दिउँसो १ बजे बबरमहलमा उनीहरू पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागेका छन्। सर्वोच्चको अन्तरिम आदेशपछि अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ।

जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा विवाद थियो । अध्यक्ष ठाकुर पक्ष सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए।

अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाहीसमेत गरेका थिए। तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ११ : ४६ बजे