८ असार २०८३, सोमबार | Mon Jun 22 2026

छाउ नबार्ने सुदूरपश्चिमका १४ महिला पुरष्कृत




काठमाडौ

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ महिनाबारी रजस्वला नबार्ने १४ महिलालाई सम्मान गरेको छ। उसले आफ्ना हरेक वडाबाट दुई जना छानेर जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो।

गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदकाअनुसार महिनाबारी नबारी नियमित घरव्यवहारका काम गर्दै आएका महिलालाई सम्मान गरिएको हो। उनीहरूलाई गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी र उपाध्यक्ष निर्मला देवी साउदले नगद रकम र प्रशंसापत्र हस्तान्तरण गरेका हुन्।

‘पोहोर हामीले कार्यविधि बनायौं। यसपालिदेखि सम्मान कार्यक्रम गर्‍यौं’, अध्यक्ष बोगटीले भने, ‘गाउँपालिकाले बर्सेनी यसैगरि सम्मान गर्दै जानेछ।’

सम्मानित हुनेहरू गदगद् छन्। ‘मैले विगत १२ वर्षदेखि छाउ नबारी घरका सबै काम गर्दै आएकी थिएँ। यसरी सम्मान पाउँदा खुसी लाग्यो’, काडामाण्डौकी कृष्णा भट्ट जोशीले भनिन्।

त्यसैगरि बगलेककी सुनिता ठकुल्लाले ‘छाउ बार्नु हुँदैन’ भनेर जनचेतनामुलक कार्यक्रम चलाउनुपर्नेमा जोड दिएकी थिइन्।
बिहीबार आयोजित कार्यक्रममा १४ ज्येष्ठ नागरिकलाई पनि नगदसहित सम्मान गरिएको थियो।

प्रकाशित मिति : २६ असार २०७८ शनिबार ००:००  ९ : १० बजे