७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु



बर्दिया ।
पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ।

शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो। हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आज बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए।

यसअघि गत असार २१ गते मात्रै मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो। योसहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ।

निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो छ। स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ११ : ५६ बजे