६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ



बागलुङ।
अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् ।

जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो’, हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।’ ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  १२ : ०२ बजे