४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अहिले आएर टोपबहादुर रायमाझीले भनेः म माओवादीमै छु, कारवाही बदर गरी पाउँ



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका एमाले नेता टोपबहादुर रायमाझीले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले बुधबार दायर गरेको रिटमा आफू माओवादी केन्द्रमै भएको रेकर्ड निर्वाचन आयोगमा रहेको भन्दै कारवाही बदरको माग गरेका छन् । उनले आफूले दल परिवर्तन गरेको भन्दै गरिएको कारवाही पनि झुठा भएको दावी गरेका छन्।

‘म निवेदकले अर्को दल गठन गरेको पनि छैन,’ उनको रिट निवेदनमा उल्लेख छ, ‘मिति २०७८/३/२३ मा निर्वाचन आयोगमा निवेदन गरी ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको नाम लिष्टको प्रमाणित प्रतिलिपि उतार गरी लिएकोमा मिति २०७८/३/२३ को आयोगको रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्यमा छु । ने.क.पा. एमालेको केन्द्रीय कार्यसमितिको लिष्टमा छैन।’

दल परिवर्तनको आरोप झुट्टा भएको भन्दै उनको भनाइ छ, ‘दुवै आयोगबाट प्रमाणित लिष्ट आयोगको मिति २०७८/३/२३ को प.सं. ०७७१७८ च.नं. २५९ को पत्र साथ मलाई प्राप्त भएका र पत्र तथा दुवै दलको लिष्ट निवेदन साथ पेश गरेको छु । यस कारण दल परिवर्तन गरेकै छैन । झुट्टा आरोप लगाई गरेको कारवाही बदर गरी पाउँ।’

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ३ : १२ बजे