२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पूर्वयुवराज पारसले गरे ट्राफिक प्रहरीसँग लफडा



काठमाडौं ।
पटक पटक विवादमा मुछिँदै आएका पूर्व युवराज पारस शाह फेरि एक पटक विवादमा तानिएका छन् । यो पटक उनी बिना हेल्मेट मोटरसाइकलमा हुइँकिरहेको अवस्थामा भेटिए भने प्रहरीले रोकेर कारबाहीको दायरामा ल्याउन खोज्दा उल्टै बादबिबादमा उत्रिए ।

शुक्रबार पारस र उनको टीमका केही सदस्य महाराजगन्ज चोक (चक्रपथ) मा बिना हेल्मेटमा सडकमा हुइँकिएको पाइएपछि ट्राफिक प्रहरीले रोकेको थियो ।

सार्वजनिक एक भिडियोमा उनी असन्तुलित देखिन्छन् भने आवाज पनि स्पष्ट सुनिँदैन । उनले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टै ‘तँतँ र मम’को अवस्थामा प्रस्तुत भएका छन् ।

ट्राफिक प्रहरीले सो क्रममा माथिल्लो निकायमा फोन गरेर गाडी पठाइदिन भनेको भिडियोमा सुनिन्छ भने सो क्रममा पारसका समर्थकले होहल्ला गर्दै नाराबाजी समेत गरेका थिए । प्रहरी स्रोतका अनुसार पारसले लफडा गरेपनि उनलाई त्यसै छाडिएको छ ।

यस विषयमा महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा एआईजी हरि पालसँग बुझ्दा पारसलाई नियमानुसार सवारी नियम उलंघन गरेको अभियोगमा कारबाही गर्नेगरी छाडिएको दावी गरे । उनीमाथि नियमानुसार जरिवाना हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ६ : ४० बजे